अरनिको रुट ट्रक ईकाईको २६ औं स्थापना दिवसमा राहत तथा छात्रवृत्ति प्रदान

तातोपानी (सिन्धुपाल्चोक), मंसिर १३
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाईले आफ्नो २६ औं स्थपना दिवस मनाएको छ ।
भोटेकोशी गाउँपालिका अन्र्तगत तातोपानीको एक होटलमा हिजो यातायात मजदुर संगठन अरनिको रुट ट्रक ईकाईले उक्त स्थापना दिवसका सन्दर्भमा विविध कार्यक्रम गरी मनाएको हो । २६ औं स्थापना दिवसलाई ट्रक ईकाई कमिटिले केक काटेर मनाएको थियो । कार्यक्रमलाई ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटिका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर तथा केक काटेर गरेका थिए ।

कार्यक्रम उद्घाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै जिफन्ट राष्ट्रिय कमिटिका अध्यक्ष श्रेष्ठले अरनिको रुट ट्रक ईकाईले स्थापना दिवसको अवसरमा गरेको कार्यक्रम अधिराज्य भरिकै रचनात्मक कार्यक्रम भएको बताए । संगठनले धेरै लामो संघर्ष र लगानीपछि २६ वर्ष पार गरेको उनले उल्लेख गरे ।

२६ वर्ष सम्म अरनिको रुट ट्रक ईकाईले मजदुर सदस्यलाई उपचार राहात तथा सदस्याका छोराछोरीलाई छात्रवृत्ति निरन्तर गर्नु उपलब्धीमुलक भएको उनले बताए । सवारीचालक मजदुरहरुको अतुलनीय योगदान रहेको चर्चा गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले सवारीचालक मजदुरहरुले कन्टेनर मात्र चलाउने होईन देश कुशलतापूर्वक चलाउन पर्ने दिन आएको उद्घोष गरे । ’अब तपाई मजदुरहरुले कन्टेर मात्र चलाउने होईन यो देश नै कुशलतापूर्वक चलाउने हिम्मत गर्नुहोस‘, नेता श्रेष्ठले भने ।

लेख्न र पढ्न जान्नेहरुलाई मात्र लाईसेन्स दिने सरकारी नियमप्रति कटाक्ष गर्दै मजदुर नेता श्रेष्ठले चालकको अनुभवको आधारमा योग्यता र क्षमतालाई फिल्डमै आएर परिक्षण गर्न राज्यलाई चुनौति दिए । राज्यले सरकारका कर्मचारीलाई मात्र होईन अवधि पुगेका चालक मजदुरलाई समेत निवृत्तभत्ता र पेन्सनको व्यवस्था गर्न आग्रह गरे । त्यस्तै कार्यक्रमकी विशेष अतिथि ३ नम्बर प्रदेश सदस्य सीता लामाले मजदुरका हक अधिकारका सन्दर्भमा कानुन अझै अप्रयाप्त र त्रुटीपूर्ण रहेकोले सच्याउनपर्ने जिकिर गरिन । त्यसको लागि आफुले ३ नम्बर प्रदेशबाट पहल लिने उनले बताईन । त्यस्तै कार्यक्रममा अर्का विशेष अतिथि ३ नम्बर प्रदेश कमिटिका अध्यक्ष तथा केन्द्रीय सदस्य रामहरी नेपालले तातोपानी नाकाबाट खासा कन्टेनर लैजाने चालक मजदुरहरुले भोग्नु परेको अनावश्यक झन्झट र कठिनायीहरुलाई राज्यको उपल्लो तहसम्म ध्यानकर्षण गर्न आफुले पहल गर्ने बताए । नाकाबाट हुने अवैध कारोवारीमा मजदुरको कुनै गल्ति नभएको भन्दै मजदुरहरुलाई दोषी देखाएर जेल समेत जानुपर्ने अवस्थालाई राज्यले उचित छानविन गर्नुपर्ने उनले माग गरे ।

कार्यक्रममा यातायात मजदुरका अन्य केन्द्रीय नेता लगाएतले आफ्नो धारणा राखेका थिए । १२ बजे ढिलो गरी सूरुवात गरिएको उक्त कार्यक्रममा तातोपानी भन्सार तथा अध्यागमनका कर्मचारी, सिमासुरक्षा बलका प्रतिनिधि लगाएतको उपस्थिति रहेपनि जनप्रतिनिधि भने कोही पनि सहभागी भएनन् ।
कार्यक्रममा २६ औं स्थापना दिवसको अवसरमा अरनिको रुट ट्रक ईकाईले उक्त संस्थामा आवद्व मजदुरका छोराछोरी मध्येबाट प्रवेशिका परिक्षामा उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण हुनेहरुलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति पाउनेहरुमा कुशल दाहाल, मेनुका पौडेल, निमा शेर्पा, रोशन अधिकारी र सुजता तामाङले प्रथम पुरस्कार देखि सान्त्वना सम्म प्रमाणपत्र सहित क्रमशः १५,०००, १०,००० ६,०००, १०००, १००० प्राप्त गरेका छन् त्यस्तै सरकारी विद्यालयबाट लाक्पाडोमा शेर्पा र सुविन श्रेष्ठले जनही ५ हजारका दरले तथा अञ्जु तामाङ, रोजिता लामा घिसिङ, रसिना श्रेष्ठ र शिवराम श्रेष्ठले जनही एकहजारका दरले छात्रवृत्ति प्राप्त गरेका छन् । संगठनले सोही कार्यक्रमको अवसरमा अरनिको रुट ट्रक ईकाईमा आवद्व मजदुरहरुका लागी औषधी उपचार बापत राहत प्रदान गरेको छ । जसमा चालक सोनाम तामाङ, सुर्यबहादुर कार्की, राजेन्द्र नेपाल, नर्पु ग्याल्जेन शेर्पा, शिवकुमार श्रेष्ठ, सुर्यबहादुर कार्की र शोरबहादुर शाक्यले प्रमाणपत्र सहित क्रमशः ३०,१५०, २७,१४०, १८,१००, ६७००, ४९८५, ३९९८ र ३८२० प्राप्त गरेका छन् ।

कार्यक्रमका सभाअध्यक्ष तथा अरनिको रुट ट्रक ईकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले उक्त संगठनले वर्षेनी चालक मजदुरलाई राहात तथा तिनका छोराछोरीलाई प्रदान गर्ने छात्रवृत्तिलाई अझै निरन्तरता गर्दै प्रभावकारी बनाईने उद्घोष गरे । नाकामा मजदुरहरुले झेल्दै आएका कठिनायी र झन्झट लगाएत समस्याहरुलाई प्रदेश तथा केन्द्र मार्फत सरकार समक्ष समाधानका लागि पहल गरिदिन मजदुर नेताहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गरे ।