असारसम्म आवास पुनर्निर्माण सक्ने मेलम्ची नगरपालिकाको दावी

मेलम्ची (सिन्धुपाल्चोक), जिल्लाको मेलम्ची नगरपालिकाले आगमी असार भित्रै आफ्नो नगरभित्रका निजी आवासको पुनर्निर्माण गरीसक्ने दावी गरेको छ । सोमबार मेलम्ची नगरपालिकामा बसेको बैठकले २०७७ साल असार मशान्त भित्र निजि आवास पुन निमार्ण सक्ने लक्ष्य लिएको हो । बैठकले दोहोरिएको लाभग्राहि सूचिमा रहेका नामावली हटाउने निर्णय समेत गरेको नगरपालिकाका सुचना अधिकारी जितबहादुर कार्कीले जानकारी दिए । नगरपालिकाले पुनर्निमार्णमा खटिएका संघसंस्थाहरुलाई परिचालन गरि समयमै निजि आवास निमार्ण कार्य सक्ने लक्ष्य लिएको हो । बैठकमा नगरप्रमुख डम्बर अर्यालले निजि आवास निमार्ण सकेर सार्वजानिक स्थलहरुको पुनर्निमार्ण गर्नपर्ने बताए । नगरभित्र रहेका मठ मन्दिर, गुम्बा, लगाएतका संरचना बनाउन ढिला भइसकेको भन्दै निजि आवास पुर्ननिर्माणको कार्य छिटोगरी सक्नका लागि सहयोग गर्न बैठकमा सहभागि संघ संस्थाका प्रतिनिधि, पुनर्निमार्णमा खटिएका इन्जिनियर, वडा अध्यक्षहरुलाइ आग्रह गरे । बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिले नगरपालिकाको लक्ष्यलाई साथ दिने प्रतिबद्धता गरेका छन् । त्यस्तै सम्झौता भएर पहिलो किस्ता लिने लाभग्राहीहरुलाइ कार्तिक मशान्तभित्र भुँई ढलान सक्न नगरपालिकाले आग्रह गरेको छ ।