पिस्करमा नमुना विद्यालय भवन हस्तान्तरण

पिस्कर (सिन्धुपाल्चोक), जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत पिस्करमा एक नमुना विद्यालय हस्तान्तरण गरिएको छ ।
ग्रामीण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकले चाइल्डफण्ड जापान र चाईल्डफण्ड कोरियाको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अवस्थित श्री मङगलामाई माध्यमिक विद्यालय हस्तान्तरण गरिएको हो । शौचालय, खानेपानी, कक्षाकोठा व्यवस्थापन, कार्यालय व्यवस्थापन र घेराबार सहितको नवनिर्मित १२ कोठे आरसिसि भवनको शुक्रबार एक भव्य समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त भवनको ३ नं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र चाइल्डफण्ड जापानका कन्ट्री डाइरेक्टर आईलिन सान्टीयागोले उद्घाटन सहित संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेको थिए ।

कुल ३ करोड ७४ लाख ३० हजार ४ सय १४ रुपैया ४५ पैसा लगानी भएको उक्त भवन सहितको संरचना बनेको हो । कार्यक्रममका प्रमुख अतिथि रहेका मन्त्री नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक क्षेत्रको विकासको लागि भौतिक संरचना बनेसंगै गुणस्तर शिक्षा समेत हुनपर्ने धारणा राखे । त्यस्तै अन्य वक्ताहरुले भवन गाउँपालिका भरी कै नमुना, सुरक्षित र बालमैत्री रहेकोमा सहयोगी संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको प्रमूख कृष्णगोपाल तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, चाइल्डफण्ड जापानका कन्ट्री डाइरेक्टर आईलिन सान्टीयागो लगाएतको बिशेष आथित्यता र विद्यालयसंग सम्बन्धित सरोकारवालाहरुको आथित्यता सहित अभिभावक, शिक्षक विद्यार्थीहरुको उल्लेख्य उपस्थितीमा हस्तान्तरण भएको हो । विद्यालयका शिक्षक, विद्यार्थी तथा अविभावकहरुद्वारा अतिथीहरुको भव्य स्वागत सहित शूरु भएको उक्त कार्यक्रममा विद्यालयमा अवस्थित मंगलामाई बाल क्लवका तर्फबाट विभिन्न गीत, नाच र सन्देशमुलक सडक नाटक सहित उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

बलियो र आकर्षक नयाँ भवन निर्माण भएको खुसियालीमा विद्यालय परिवारले उक्त भवनलाई फुलमाला, पुष्प गुच्छा र तोरणले दुलही झै सिंगारिएको थियो । २०७२ बैशाखको विनाशकारी भुकम्पबाट पुर्ण क्षति भएको उक्त बिद्यालयको पुरानो स्थानको जमीन चर्किएर पहिरो गएको थियो । त्यसपछि विद्यालय असुरक्षित भएपछि करीव १०० मीटर तल सुरक्षित स्थानमा त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा जग्गा खरीद गरी परियोजनाको तर्फबाट नयाँ भवन निर्माण गरेर विद्यालय स्थानान्तरण सहित हस्तान्तरण गरिएको परियोजना संयोजक हर्क तामाङले बताए ।