लिसंखुपाखरमा दोस्रो पाखर कपको आयोजना, उपाधि दोलखालाई

दिनेश दुलाल
ठूलोपाखर(सिन्धुपाल्चोक), माघ २३ ( लिसंखुपाखर गाउँपालिकामा भएको दास्रो पाखर कप प्रतियोगिताको उपाधि जिल्ला फुटबल संघ दोलखाले प्राप्त गरेको छ
। माघ ११ देखि सञ्चालित दोस्रो पाखर कपको मंगलबार भएको फाईनल खेलमा दोलखाले नगरकोटलाई २–१ ले पराजित गरेर जित हाँसिल गरेको हो ।
हिजो भएको उक्त फुटबल प्रतियोगिताको फाईनल खेलमा दोलखाले दोस्रो पाखर कपको उपाधि पाय संगै २ लाख २२ हजार २ सय २२ रुपैया नगद् प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको नगरकोटले १ लाख ११ हजार १ सय ११ रुपैंया प्राप्त गरेको छ ।मुख्य आयोजक लिसंखुपाखर गाउँपालिका तथा ठूलोपाखर क्लव आयोजक रहेको दोस्रो पाखर कप प्रतियोगितामा जिल्लाका १० वटा क्लव तथा जिल्ला बाहिरका ५ वटा फुटबल संघहरु सहभागि भएका थिए । उक्त फाईनल खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टद्वारा दिप प्रज्ज्वलन तथा खेलाडीलाई बल हस्तान्तरण गरेर सुरुवात गरिएको हो । फाईनल खेलको सुरुवात हुनु अघि भएको औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै परिषद्का सदस्य सचिव विष्टले ग्रामिण भेगमा रहेको खेलको विकासको लागि आफुले जोड दिने बताउनुभयो ।
’ग्रामिण भेगलाई पहिलो प्राथमिकता राखेर यहाँको खेलकुद क्षेत्रको विकासको लागि लगानी गर्न हामी तत्पर छौं‘, सदस्य सचिव विष्टले भन्नुभयो । सम्वोधनका क्रममा विष्टले सिन्धुपाल्चोकको महत्वपूर्ण खेलमैदानको रुपमा रहेको ठूलोपाखर खेलमैदानको पूर्वाधार विकास गर्न आवश्यक वजेट बिनियोजन गरिने बचन दिनुभयो । परिषद्बाट खेलकुद विकासको लागि स्थानीय सरकार देखि केन्द्रीय सरकार सम्ममा ध्यान गएको बताउदै सदस्य सचिव बिष्टले खेलकुद क्षेत्रको क्रमागत विकास हुँदै गएको प्रष्ट्याउनुभयो । कार्यक्रमका विषेश अतिथि रहनुभएका लिसंखुपाखर गाउँपालिकाका प्रमुख कमल नेपालले लिसंखुपाखर गाउँपालिका आर्थिक आन्तररिक स्रोतले धनी नभएपनि खेलकुद क्षेत्रको विकासको लागि मन धनी भएको बताउनुभयो ।

’गाउँपालिका आर्थिक हिसाबले धनी छैन् तर खेलकुद क्षेत्रको विकासको लागि मन धनी छ‘, गाउँपालिका प्रमुख नेपालले भन्नुभयो । दोस्रो पाखर कप फुटबल प्रतियोगिताको आयोजना गरेर ग्रामिण भेगको खेलकुद क्षेत्रलाई प्रोत्साहित गर्न लागेको उहाँले बताउनुभयो । खेल क्षेत्रको विकासमा लिसंखुपाखर गाउँपालिकाले छलाङ मार्ने बताउँदै प्रमुख नेपालले जिल्लाकै महत्वपूर्ण गाउँपालिका भित्र रहेको ठूलोपाखरको लामाचौर खेलमैदानको पूर्वाधार बिस्तार र विकासको लागि गाउँपालिका लागिपरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष बिरबहादुर खड्काले उक्त खेलमैदानको स्तर उन्नतीको लागि राष्ट्रिय फुटफल संघले सहयोग गर्ने बचन दिनुभयो ।

उक्त आयोजनाको लागि गाउँपालिका लगाएतको आर्थिक सहयोग रहेपनि अपुग रकमको लागि चन्दा समेत संकलन गरिएको प्रतियोगिताको आयोजक समेत रहेको ठूलोपाखर क्लवका अध्यक्ष देवदोर्जे तामाङले बताउनुभयो । खेलमैदान फराकिलो भएपनि आवश्यक पूर्वाधार विकास नहुँदा बर्षायाम तथा धुलोका कारण समस्या भएको दुःखेसो पोख्नुभयो ।

कार्यक्रमको समापन संगै विजेता टिमलाई प्रमुख अतिथि परिषद्का सदस्य सचिव विष्ट तथा विषेश अतिथि गाउँपालिकाका अध्यक्ष नेपालले नगद, शिल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।