
हेलम्बु गाउँपालिकाले मोडेल विद्यालय बनाउने

दिनेश दुलाल
हेलम्बु (सिन्धुपाल्चोक) (हेलम्बु गाउँपालिकाले हेलम्बुमा जिल्लाकै नुमना मोडेल विद्यालय बनाउने योजना अघि सारेको छ । भौतिक पूर्वाधार, नयाँ प्रविधि तथा स्रोतसाधनले सम्पन्न भएको उक्त मोडेल विद्यालय हेलम्बुको घोप्टेघ्याङमा निर्माण गरिने योजना रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
’मोडेल विद्यालयको लागि हामी डिपीआरको अन्तिम चरणमा रहेका छौं‘ अध्यक्ष निमाले भन्नुभयो । उहाँका अनुसार प्राविधिक विद्यालयको रुपमा विकास गरिने उक्त विद्यालयलाई गाउँपालिको केन्द्र भागमा राखेर सञ्चालन गरिने छ । प्राय विद्यालयमा थोरै विद्यार्थी तर धेरै शिक्षक रहेर पनि अनुत्पादक बनेको ग्रामिण भेगको शिक्षालाई गुणात्मक रुपमा व्यवस्थित गर्न सो खालको अवधारणा ल्याईएको निमाले प्रष्ट्याउनभयो ।
उहाँका अनुसार घोप्टेघ्याङमा निर्माण गर्न लागिएको मोडेल विद्यालय एउटै माविको रुपमा विकास गरी सञ्चालित विद्यालयहरुलाई प्राथमिक तहमा मात्र पढाईने छ । चारसय रोपनीमा फैलिएको घोप्टेघ्याङमा प्रस्तावित मोडेल विद्यालयमा होस्टेलको समेत व्यवस्था गर्ने गाउँपालिकाको योजना रहेको छ । हेलम्बुको सबै वडामा सडक सञ्जाल जोडिएकाले मोडेल विद्यालयमा पढ्ने विद्यार्थीहरुको लागि यातायातको समेत व्यवस्था गरिने उहाँले बताउतुभयो ।
यसैबीच विभिन्न जातिहरुको भाषा संस्कृतिको जगेर्ना गर्ने हिसावले सोही अनुसारको पाठशालाको व्यवस्था समेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ’क्षेत्री ब्राह्म्णमा संस्कृत पढ्ने पुरेत र बौद्व धर्म मान्ने समुदायमा लामा पढ्नेहरुको अभाव छ, यसको जगेर्ना गर्नुपर्ने आवश्यकता देखियो‘, अध्यक्ष निमाले भन्नुभयो । यसको लागि लामा भाषा र संस्कृत भाषामा पढाई समेत सञ्चालन गरिने गाउँपालिकाको योजना रहेको अध्यक्ष निमाले जानकारी दिनुभयो ।