प्रदेश सांसदहरुले बाँडे ६ सडकलाई १३ करोड

चौतारा । सिन्धुपाल्चोकका प्रदेश सांसदहरुले जिल्लाका ६ सडकहरुलाई १३ बाँडफाँड गरेका छन् । ३ नम्बर प्रदेश अन्र्तगत भौतिक पूर्वाधार मन्त्रालयबाट जिल्लाका ६ सडकहरुको लागि १३ करोडको बजेट बिनियोजन गरिएको ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । ’पहिल्यै लिस्टिङ भईसकेका सडकहरुलाई प्रदेश सरकारको बजेट जिल्लाका साविका तिनवटा निर्वाचन क्षेत्रमा समानुपातिक ढंगबाट बाँडिएको हो‘ मन्त्री दुलालले भने । उनका अनुसार प्रदेशमा रहेको १३ करोड ३७ लाख ४८ हजार लाई ३–३ करोडका दरले बाँडिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नम्बर ३ हेटौंडा मकानुपुरको २०७६/०४/२९ चंनं १०३ को पत्रनुसार संघीय सरकारबाट हस्तान्तरित सम्भावित प्रादेशिक सडकहरुको बजेट बाँडफाँड सम्बन्धमा तोकिएको शर्तहरुको अधिनमा रहि सिन्धुपाल्चोक जिल्ला अन्र्तगत ६ सडकहरु छनौट गरी मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । जसमा बाह्रबिसे बुदेपा टुङथली विमथली कालिञ्चोक सडक ३ करोड १८ लाख ८७ हजार, सिंयाले यमुनाडाँडा सडक ३ करोड १८ लाख ८७ हजार, बाहुनेपाटी धुसेनी आँपचौर कुञ्चोक सडक ३ करोड १८ लाख ८७ हजार रहेको छ । त्यसैगरी तिम्बु स्युगुंचे शेर्माथाङ सडक १ करोड ६२ लाख, बरुवा याङग्री सडक १ करोड र मानेभञ्याङ सिमपानी कटुञ्जे डडुवा थाक्ले सडकलाई ३ करोड १८ लाख ८७ हजार रहेको छ । ६ वटा सडकलाई विनियोजित गरिएको उक्त योजनाहरुको छिट्टै टेन्डर प्रक्रिया थालिने मन्त्री दुलालले बताए ।