
चौसागढी नगरपालिकामा चिया खेतीको शुभराम्भ

दिनेश दुलाल
असार २५,सिन्धुपाल्चोक ( चौतारा साँगाचोकगढी नगपालिकाले वडा नम्बर १ अन्र्तगत ओख्रेनीमा व्यावसायिक चिया खेतीको शुभराम्भ गरेको छ । आईतबार उक्त क्षेत्रमा चियाको बिरुवा रोप्ने कार्यको शुभराम्भ नगर प्रमुख अमान सिं तामाङले गर्नुभएको हो । जिल्लाकै रमणीय तथा पर्यटकीय क्षेत्र ओख्रेनीमा चियाको सम्भाव्यता लागि नगरपालिकाले यसअघि चिया सम्बन्धी विज्ञ लगेर अनुसन्धान गरेको थियो । ओख्रेनीमा चियाको लागि अनुकुल वातावरण रहेको विज्ञहरुको रायपछि नगरपालिकाले उक्त क्षेत्रमा चिया खेतीको लागि लगानी गर्न लागिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो ।
’ओख्रेनीमा चिया उत्पादन राम्रो हुने अनुसन्धानबाट देखिएको कारण बिरुवा रोप्न सुरुवात गरेका हौं‘, नगरप्रमुख तामाङले भन्नुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा नगरपालिकाले १० हजार बिरुवा रोप्ने योजना बनाएको छ । व्यावसायिक चिया खेतीको लागि आवश्यक पूर्वाधार थप्दै सो क्षेत्रलाई चिया खेतिको क्षेत्रमा विकास गरि कृषि र पर्यटनको एकैचोटी विकास गर्ने लक्ष्यका साथ लगानी गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बस्यालले जानकारी दिनुभयो । उक्त चिया खेती व्यवसायको विकासको लागि नगरपालिकाले सबै सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बातउनुभयो ।