भारतको हेपाहा प्रवृति विरुद्व तात्यो मुलुक

काठमाडौं । कालापानी नेपालको भू–भाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्साप्रति नेपालका विभिन्न पक्षले आपत्ति जनाएका छन् । भारतको उक्त कदमलाई नेपाल सरकारले अस्वीकार्य गर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ ।
परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’

नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राबिधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले स्मरण गराएको छ ।
यसैबीच नेपाल विरुद्व भारतले चालेको उक्त कदमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड‘ ले भारतको हेपाहा प्रवृति भएको बताएका छन् । उक्त कदम प्रति एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने प्रतिक्रिया दिएका छन् । भारतले उक्त निर्णय नसच्याए पार्टीले सशक्त आवाज उठाउने बताएका छन् ।
त्यस्तै भारतको उक्त कदमलाई प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत गलत भएको प्रतिक्रिया दिएको छ ।
यसैबीच पछिल्लो समय भारतले नेपालको सिमा मिच्ने गरी बनाईएको नक्सा विरुद्व युवा संघ नेपालले डटेर सामाना गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्र्रीय संयोजक दिपशिखा र सहसंयोजक रमेश पौडेलले जारी गरेको प्रेसविज्ञप्तिमा भनिएको छ– ’ईतिहासमा नेपाल कसैका सामु झुकेको छैन् । आफ्नो स्वाभिमानलाई संधै उचो राखेको नेपाललाई भारतले पटक पटक हेप्ने प्रयास गर्दै आएको छ । स्वभिमान आकार प्रकारका हिसाबले उच र निच हुने विषय होईन । नेपाल र नेपालीलाई कमजोर ठानी नेपाली भूमि अतिक्रमण गर्ने भारतीय विस्तारवादी नीति घोर आपत्तिजनक, निन्दनीय र अस्विकार्य छ ।‘ भारतीय पक्षले उक्त त्रुटी नसच्याए राष्ट्रिय युवासंघ नेपालले राष्ट्रियता र सार्वभौमिकताको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहने चेतावनी समेत दिएको छ ।