३ नम्बर प्रदेश सरकारको शिक्षामा नयाँ मोडालिटी पहिलो चरणमा २० मोडेल विद्यालय, सिन्धुमा दुई

दिनेश दुलाल
हेटौंडा । ३ नम्बर प्रदेश सरकारले शिक्षालाई गुणात्मक रुपमा विकास गर्नको लागि नयाँ अवधारणा अघि सारेको छ । भौतिक पूर्वाधार सहित शिक्षाको गुणात्मक सिकाई उपल्ब्धी हाँसिल गर्न भन्दै प्रदेश सरकाले शिक्षामा नयाँ मोडालिटी बनाएको हो । जसमा पहिलो चरणमा ३ नम्बर प्रदेशका २० मोडेल विद्यालय प्राथमिकतामा परेका छन् । ३ नम्बर प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले यो वर्ष २० वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा लैजाने निर्णय गरेको सामजिक विकासमन्त्री युवराज दुलालले बताए । ’प्रति विद्यालयलाई ५० लाख सहित यो वर्षबाट सुरुवात गर्न लागेका छौं‘, मन्त्री दुलालले भने । उनका अनुसार सामाजिक विकास मन्त्रालयले छनौट भएका विद्यालयहरुलाई गुरुयोजना बनाउन लगाउने र गुरुयोजनाको आधारमा थप बजेटको व्यवस्था गर्ने छ । पहिलो चरणमा प्रदेश सरकारले प्रदेश भरी २० विद्यालय नमुना विद्यालयको रुपमा छनौट गरिए पनि गुरुयोजनाका आधारमा के के गर्न सकिन्छ भन्ने सन्दर्भमा भने त्यसको विस्तृत योजना पछि मात्र थाहा हुने मन्त्री दुलालले स्पष्ट पारे । भौतिक पूर्वाधार देखि शैक्षिक सामग्री लगाएत गुणस्तीय शिक्षाको लागि आवश्यक सहयोग भने प्रदेश सरकारले गर्ने उनले बताए । उनका अनुसार यो वर्ष छनौट भएका मोडेल विद्यालयहरुको गुरुयोजना बन्ने र दोस्रो चौमासिक देखि मोडेल विद्यालयको कार्यान्वयन प्रक्रिया सुरुवात हुनेछ ।
मन्त्रालयका अनुसार गुरुयोजनाको लागि प्राविधिक सहयोग भने ३ नम्बर प्रदेश अन्र्तगत शैक्षिक योजना तथा अनुसन्धान महाशाखाले गर्नेछ । त्यसमाथि मात्रै विद्यालयलाई अनुदान दिने प्रदेश सरकारको रणनीति छ । गुरुयोजनामा भएका क्रियाकलाप तथा उद्देश्य पुरा गर्नको लागि प्रदेश सरकार तथा अन्य विभिन्न निकायको तर्फबाट लगानीका सुरुवात हुने ३ नम्बर प्रदेश अन्र्तगत शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले बताए । प्रदेश सरकारले छनौट भएका विद्यालयलाई उपलब्ध गराउने ५० लाख गुरुयोजनामा रहेको शैक्षिक क्रियाकलापहरु पुर्ताल तथा कार्यान्वयन गर्नका लागि भएको उनले बताए ।
के हो मोडेल विद्यालयको अवधारणा ?
संघीय सरकारले विद्यालय क्षेत्र कार्यान्वयन गर्ने योजना बनाएको थियो । जसअनुसार संघीय सरकारले मुलुकभरका १००० विद्यालय नमुना विद्यालय हुनेछन् भनेर उल्लेख गरेको छ । त्यसलाई प्रदेश सरकारको मातहात रहेका विद्यालयहरुलाई कार्यान्वयन गर्दै जाने भनेर विभिन्न दस्तावेजहरुमा उल्लेख छ । सोही अनुसार कार्यान्वयन गर्न प्रदेश सरकारले दिगो विकास लक्ष्यको उद्देश्य पुरा गर्नका लागि र विद्यालयमा हुनपर्ने न्युनतम् पूर्वाधारहरु तथा गुणस्तीय शिक्षाका लागि पुरा गर्नु पर्ने न्युनत्म आधारहरु पुरा गराउन लागि पर्ने महाशाखा प्रमुख सुवेदीको तर्क छ । सोही योजना मुताबिक रहेर पाठ्यक्रमको विकास लगाएत सम्पूर्ण शिकाई उपलब्धीहरु हाँसिल गर्नेगरी नमुना विद्यालय बनाउने उनले बताए ।
’नमुना छनौट भएका विद्यालयहरुले जग्गा उपलब्ध देखि लिएर अन्य सहयोगका प्रतिवद्वताहरु, पूर्वाधारहरु, त्याहाँका व्यवस्थापन लगाएत कुराहरुमा सुधार गर्छौं भन्ने प्रतिवद्वताहरु पुरा गर्नुपर्छ‘, महाशाखा प्रमुख सुवेदीले भने । प्रदेश ३ का २० वटा विद्यालय नमुनाको रुपम छानिनुमा सम्बनिधत विद्यालयको सिकाई उपलब्धी लगाएत विषयहरुलाई आधार मानेर छनौट गरिएको उनले बताए ।
३ नम्बर प्रदेशले यो वर्ष २० विद्यालयलाई छनौट गरेपनि अर्को वर्ष पुन अरु विद्यायलयहरुलाई छनौट गरिने समेत उनले जानकारी दिए । प्रदेश सरकारको लगानीको दायारा फराकिलो हुँदै जाँदा विद्यालयमा पनि लगानीको क्षेत्र बढ्दै जाने माहाशाखा प्रमुख सुवेदीको तर्क छ । तर संघीय सरकारले नमुना घोषणा गरेको विद्यालयलाई भने प्रदेश ३ सरकारले लगानी नगर्ने उनले स्पष्ट पारे ।

कुन–कुन छनौट भएका छन् मोडेल विद्यालय ?
१)फुलचोकी मावि फुलचोकी, गोदावारी
२) मुकुन्देश्वरी मावि ककनी, नुवाकोट
३) आदर्श मावि गजुरी, धादिङ
४) जनकल्याण मावि गल्छि, धादिङ
५) बागेश्वरी मावि भक्तपुर,भक्तपुर
६) लदाभिर मावि दुधौलि, सिन्धुली
७) जनजाती मावि खुर्कोट, सिन्धुली
८) कालिन्चोक मावि भिमेश्वर, दोलखा
९) खडादेवी मावि काभ्रेपलाञ्चोक
१०) आजाद मावि बालुवा, काभ्रेपलाञ्चोक
११) सिद्विगणेश मावि सानोसिरुवारी, सिन्धुपाल्चोक
१२) ईन्द्रेश्वरी मावि मेलम्ची, सिन्धुपाल्चोक
१३) कुशेश्वर मावि वेथान, रामेछाप
१४) गौरीशंकर मावि रामेछाप, रामेछाप
१५) महेन्द्रकरण मावि मनहरी, मकानपुर
१६) भानु मावि मकानचुली, मकानपुर
१७) गान्धी आदर्श मावि बागेश्वरी मनहरा, काठमाडौं
१८) जनजीवन मावि माडी, चितवन
१९) विरेन्द्र आदर्श मावि रापती चितवन
२०) भिमदया मावि कालिका नगरपालिका, चितवन ।