सिन्धुपाल्चोकका पाँच सरकारी भवन एकैसाथ उद्घाटन

चौतारा । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्ला सदरमुकाम चौतारामा बनेका पाँच सरकारी संरचना एकसाथ हस्तान्तरण तथा उद्घाटन गरिएको छ । शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशुील ज्ञवालीले पुनर्निर्माण सम्पन्न भएका उक्त भवनको हस्तान्तरण गरेका हुन् ।
भूकम्पले क्षति बनाएका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय र डिभिजन वन कार्यालय आवास भवनको पुनर्निर्माण सकेर उद्घाटन गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार कोलेनिका, प्रजिअ र वन डिभिजन आवास एकै प्याकेजमा टेन्डर प्रक्रियाद्धारा नौ करोड ४६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको हो । त्यस्तै मालपोत आवास एक करोड ४६ लाख र कार्यसञ्चालन केन्द्र दुई करोड ३७ लाख रुपैयाँ लागतमा बनेका हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका सदरमुकाममा रहेका १७ मध्ये १६ सरकारी संरचनाको पुनर्निर्माण थालिएको थियो । तीमध्ये ६ सरकारी संरचनाको पुनर्निमाण सम्पन्न भएको इकाइले जनाएको छ । इकाइका अनुसार १० संरचना पुनर्निर्माणको क्रममा छन् । क्षतिग्रस्त जिल्ला हुलाक कार्यालय भत्काउने र नयाँ बनाउने टेन्डर एकै प्याकेजमा अघि बढाउने तयारी भइरहेको भवनले जनाएको छ । सरकारी संरचना पुनर्निर्माणमा एशियाली विकास बैंकक (एडिबी) को आर्थिक सहयोग रहेको इकाइ (भवन) ले जनाएको छ ।
भवन हस्तान्तरण पछिको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुनासो व्यवस्थापन जटिल बनेको बताए छन् । बास्तविक पीडित नछुटुन् भन्ने उद्देश्यले गुनासो आवेदनमार्फत छुट सर्वे र पुनःसर्वे गरिए पनि समाधान प्रक्रिया जटिल बनेको उनले जनाए ।