सिन्धुपाल्चोक बन्यो ६८ औं खुला दिसामुक्त जिल्ला

चौतारा (सिन्धुपाल्चोक), सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा हुने ६८ औं जिल्ला बनेको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको प्राङग्रणमा आयोजित विशेष समारोह बीच खानेपानीमन्त्री बीना मगरले शुक्रबार खुला दिसामूक्त जिल्ला घोषणा गरेकी हुन् ।
घोषणासभा अघि विभिन्न झाँकी, बाजागाजासहितको ¥यालीले सदरमुकामका बजार परिक्रममा गरेको थियो।
मन्त्री मगरले सरकारका तर्फबाट सिन्धुपाल्चोक खुला दिसामूक्त जिल्ला बनेको प्रमाणपत्र समन्वय समिति प्रमुख तामाङलाई हस्तान्तरण गरिन् ।
घोषणा पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले नेपाललाई खुला दिसामुक्त घोषणाको दक्षिण एशियाकै पहिलो राष्ट्र बनाउन अभियानमा सिन्धुपाल्चोकको घोषणाले एउटा थपेको बताईन । ’हामी नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने दक्षिण एशियाकै पहिलो योजनामा छौं, यसमा तपाईहरुले एउटा ईटा थप्नु भएको छ‘, मन्त्री मगरले भनिन् । छिमेकी मुलक भारतले चर्पि निर्माण गर्ने अभियानमा सरकारले नै लगानी गरेको उदाहरण पेश गर्दै मन्त्री मगरले नेपालमा भने जनताले आफ्नै लगानीमा थालेकोमा निकै प्रसंशनीय रहेको बताईन ।
हाम्रो जीवनशैली, आनीबानी नेपाली सामजिक चेतनाको प्रतिबिम्ब भएको बताउँदै मन्त्री मगरले भनिन्’, हामीले उपदेश गर्न त सक्छौं तर आफैंलाई परिवर्तन गर्न निकै कठिनायी छ ।‘ पछिल्लो पटक नेपाली सामाजिक चेतनामा निकै परिवर्तन आएको स्विकार्दै मन्त्री मगले नेपालको यो अभियानलाई भारतले समेत नेपालबाट सिक्न लागेको बताईन ।
यसअघि ६७ जिल्ला खुला दिसामूक्त घोषित भइसकेको जानकारी दिँदै उनले आउँदो असोज १३ गते मुलुक खुला दिसामुक्त घोषणाको तयारी भइरहेको बताइन् ।
खुला दिसामूक्त राष्ट्र घोषणा गरेपछि पूर्णसरसफाइ सुनिश्चित मुलुक बनाउन कार्यक्रम अघि बढाइने उनले जनाइन् । सरफाइका लागि खानेपानी पहिलो सर्त हुने उल्लेख गर्दै उनले आधारभूत खानेपानी सुनिश्चितताका लागि सरकारले विभिन्न कार्यक्रम अघि सारेको बताइन् । सन् २०३० भित्र नेपाललाई पूर्णसरसफाइ पहूँच भएको मुलुक बनाउने लक्ष्यमा सरकार दृढताका साथ बढेको मन्त्री मगरले ठोकुवा गरिन ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले जिल्लाका सबै ८८ हजार घरधुरीमा शौचालयको पहूँच पुगेको बताए। ‘जिल्लामा खुला दिसा हुने अवस्था अब छैन्।’
उनका अनुसार यसअघि जिल्लाका सबै १२ स्थानीय तह खुला दिसामूक्त घोषित भएका थिए । २०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गरिने तयारी थियो । तर त्यसअघि नै २०७२ वैशाख १२ गते आएको भूकम्पले उक्त अभियानलाई रोक्नु परेको उनले बताए ।
स्मरण रहोस २०६९ जेठबाट खुला दिसामुक्त अभियान थालिएको थियो । ९९ प्रतिशतभन्दा बढी घरमा शौचालय पहूँच स्थापित भएपछि भूकम्प निम्तिएको थियो।
तथ्यांक अनुसार भूकम्पले ६० प्रतिशत शौचालय क्षतिग्रस्त बनाएको थियो । २०६८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लाको घरधुरी संख्या ६६ हजार ६ सय ८८ रहेकोमा अभियान अघि शौचालय पहूँच ३६ प्रतिशत मात्र थियो । झण्डै २७ हजार घरमा मात्र शौचालय थिए ।