मेलम्ची खानेपानी आयोजनामा लफडैलफडा, पीडित आन्दोलनमै

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले पैसा नदिएको भन्दै सप्लायर्स र मजदुर आन्दोलनमा होमिएका छन् ।
उनीहरुलाई स्थानीय जनप्रनिधिले पनि साथ दिएका छन् । मजदुर र सप्लायर्सले डेढ अर्बभन्दा बढी रकम भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । पीडितले बाँकी रकम भुक्तानी नहँुदासम्म काम सुरु गर्न नदिने चेतावनी दिएर आन्दोलन थालेका छन् ।
’हाम्रो माग पुरा नभएसम्म सम्म हामी आन्दोलन जारी राख्ने छौं‘, संघर्ष समितिका संयोजक विष्णुमणी आचार्यले भने, ’सिएमसिसिबाट जफत गरिएको सम्पतिबाट हाम्रा सप्लायर्स र मजदुर कामदारहरुको एक अर्ब ६७ करोड पाउनुपर्ने छ ।‘ राज्यले सिएमसिसिको झण्डै चार अर्ब लिएकोमा मजदुरलाई नदिएर श्रममाथि खेलबाड गरेको उनले आरोप लगाए ।
सरकारले सिएमसिसि संग त्यति धेरै रकम लिईसकेपछि मजुरहरुको फसेको पैसा पाउन पर्छ भन्दा सरकारले नटेरेपछि आन्दोलन गर्नुपरेको उनले बताए । उनका अनुसार संघर्ष समितिले ५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । तर कुनै सुनुवाई नभएपछि १८ गते देखि पुनः शान्तीपूर्ण धर्ना गरिरहेको उनले बताए । उनका अनुसार संघर्ष समितिले पहिलो दिन बुधबार मेलम्ची खानेपानी कार्यालयको गेठमा धर्ना दिएका थिए । बिहिबार खानेपानीको मुख्य सुरुङ अम्बाथानमा २ सय भन्दा माथि मजुरहरु पुगेर धर्ना दिएको उक्त संघर्ष समितिका संयोजक आचार्यले सिन्धुज्वालालाई बताए । त्यसैगरी संघर्ष समितिले शुक्रबार खानेपानी आयोजनामा धर्ना तथा शनिबार सो क्षेत्रका सांसद सहितको टोलीलाई ध्यानकर्षण गर्ने उनले जानकारी दिए । शुक्रबार मेलम्ची क्षेत्रमा यातायात ठप्प पार्ने समेत उनले बताए । त्यति गर्दा पनि सुनुवाई नभए अर्को चरणमा मजदुर कडा रुपमा प्रस्तुत हुने उनले चेतवानी दिए ।
सहायक निर्माण कम्पनी, सप्लायर्स र कामदारको बाँकी रकम दिनुपर्ने निकायले नै ठेक्का तोडेर भागेपछि उनीहरु अलपत्र बनेका छन् । उनीहरुले आयोजनाको पैसा नभई ठेकेदार कम्पनीको जफत गरेको पैसा सरकारले आफूहरूलाई दिलाई दिनुपर्ने माग गरेका थिए ।
निर्माण कम्पनीले काम छाडेपछि मेलम्ची खानेपानी विकास समितिले कम्पनीबाट झन्डै चार अर्ब रुपियाँ जफत गरेको छ । २ अर्ब १० करोड रुपियाँ धरौटी जफत भएको छ । एक अर्ब रुपियाँ डिस्प्युट बोर्डले काम गरेबापतको कम्पनीलाई भुक्तानी दिनु भनी निर्णय गरिसकेको रकम बाँकी छ । कम्पनीको उपकरण र स्टक म्याटिरियल झन्डै एक अर्ब रुपियाँको छ ।
मेलम्ची खानेपानी सिएमसी अवरोध अध्ययन तथा सहजीकरण समितिका संयोजक कृष्ण गोपाल तामाङका अनुसार सीएमसीले स्थानीय सप्लायर्सको करिब २० करोड, सात सय कामदारको ज्याला, दस करोड, नेपालका सहायक कन्ट्राक्टर्स र सप्लायर्सहरूको डेढ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी देखिएको छ ।
सीएमसीका इटालियन प्रतिनिधिहरूले खाना खाजा बापतको र मोबाइल रिजार्चकार्डको रकमसमेत क्यान्टिनमा भुक्तानी गरेका छैनन् ।
आयोजना स्थलका स्थानीय मजदुरहरूको तीन महिनाको तलब र सञ्चयकोष बापतको नौ करोड ७४ लाख रुपियाँ कम्पनीले भुक्तानी गर्न बाँकी छ ।
स्मरण रहोस यसअघि पीडितहरुको समस्या समाधानका लागि सहजीकरण गर्न एउटा समिति गठन गरिएको थियो । त्यसको नेतृत्व जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले गरेका थिए । मेलम्ची खानेपानी सिएमसी अवरोध अध्ययन तथा सहजीकरण समितिका संयोजक तामाङले मजदूर र सप्लायर्सहरुको पैसा नदिए आठ सय भन्दा धेरै मजदुर र सप्लायर्स सहभागि गराई आयोजना स्थलमा नै आमरण अनशनमा बस्ने यसअघि प्रतिवद्वता जनाएका थिए । तर प्रतिवद्वता गरिए अनुसार कुनै काम अघि नबढेको संघर्ष समितिका संयोजक आचार्यको कथन छ । यस सम्बन्धमा सरकारको भने बिहिबार सम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन् ।