सफा, सुन्दर सिन्धुपाल्चोक बनेसंगै नयाँ चेतनाको विकास हुनेछ

कृष्णगोपाल तामाङ (प्रमुख)
जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला खुला दिसा मुक्त जिल्ला घोषणाको तयारीमा छ । देशका ७७ जिल्लामध्ये सिन्धुपाल्चोक खुला दिसा मुक्त हुने ६८ औं जिल्ला बनेको छ । त्यस्तै प्रदेश ३ मा पनि सिन्धुपाल्चोक खुला दिसा मुक्त हुने १२ जिल्ला बनेको छ । तीन नगरपालिका तथा ९ वटा गाउँपालिका सहित १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकले आज २० गते खुला दिसा मुक्त क्षेत्र घोषणा गर्दै छ । यसको पूर्व सन्ध्यामा जिल्लालाई खुला दिसा मुक्त घोषणाको तयारी कस्तो भनेर जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङसंग सिन्धुज्वालाका सम्पादक दिनेश दुलालले लिएको छोटो कुराकानीको सम्पादित अंश–सम्पादक
१) यहाँहरुले सिन्धुपाल्चोकलाई आज खुला दिसा मुक्त क्षेत्र घोषणा गर्दै हुनुहन्छ कस्तो छ तयारी ?
तयारी लगभग भैसकेको छ । १२ वटै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको अवस्थामा अब पूर्ण तयारी भैसकेको अवस्था छ र अब आज अर्थात भदौ २० गते बृहत कार्यक्रमका साथ हामी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै छौं र यस कार्यक्रमको समेत तयारीमा हामी सबै लागि परेका छौं ।
२) यहाँले घोषणाको लागि तयारी पुरा भएको बताउनु भयो तर घोषणा गर्ने तयारीको लागी केलाई आधार मान्ने ?
पहिलो आधार भनेकै स्थानीय तहहरुमा वडाहरु देखि पालिकाहरु समेत घोषणा गरिसकेको र सम्पूर्ण नागरिकहरुमा शौचालयको पहुँच पुगेको नै पहिलो आधार हो । जिल्लाले घोषणा गर्ने मुख्य आधार नै यही हो । त्यसमाथि पनि हामीले अनुगमन गर्ने कार्य गरेका छौं । यसबाट पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हामी तयार भैसकेको कुरा प्रतिवेदन प्राप्त भएको छ ।
३) जिल्लाका कतिपय स्थानहरु जस्तै बन्देउ लगाएत ठाउँहरुमा सार्वजनिक शौचालयहरु बनेका छैनन् यसले तयारी पुरा भएको मानिन्छ र ?
अत्यन्तै सम्वेन्दनशिल क्षेत्र वनदेउमा विगत देखिनै शौचालय छ शौचालय नबनेको होईन छ तर यसको उपयोग गर्न नागरिकहरुलाई नदिई सो ठाउँका होटल व्यवसायहरुले निजि रुपमा उपयोग गर्दै आएको हँुदा सर्वसाधारणको पहुँच नपुगेको रहेछ । अहिले उक्त ठाउँमा रहेको शौचालयलाई खुल्ला गरी सार्वजानिक रुपमा सञ्चालन गरी सकेका छौ ।
४) जिल्लामा सन २०१५ मा थालिएको यो अभियान २०१७ सम्ममा जिल्ला घोषणा गर्ने तयारी थियो तर घोषणा गर्न निकै ढिला धकेलियो नी त ?
अवश्य पनि यो कुरा साँचो हो तर यसका पछाडिको मुल कारण भनेकै सन् २०१५ को महाभुकम्प रहेको सबैलाई थाहा नै छ । हामी त्यो बेला नै अन्तिम चरणमा पुगेका थियौ तर हाम्रा सबै भौतिक संरचनाहरु ध्वस्त भए । पुनर्निर्माणको चरणले गर्दा पछाडि धकेलिन्ु परेको अवस्था हो । तैपनि सबै जनताले अस्थाई शौचालय बनाएर भएपनि खुला दिसा गर्ने बानी त्यागि सकेको हामीले प्रत्यक्ष देखे भोगेका छौ । अहिले पुनर्निर्माणमा समेत यो जिल्लाको प्रगति राम्रो छ । लगभग पुनर्निमाणको काम सकिसकेको अवस्था भनेकै शौचालयहरु बनिसकेको अवस्था हो । यस आधारमा पनि घोषणा गर्न हामी तयार छौं । तसर्थ ढिलो हुनुमा महाभुकम्प नै प्रमुख कारण हो ।
५) अधिराज्यका ७७ जिल्ला र प्रदेश ३ को १३ जिल्लामध्ये सिन्धुपाल्चोक अब घोषणा हुँदा कुन स्थानमा पर्छ ?
नेपालको सन्दर्भमा हामी ६८ औं जिल्ला बन्ने भएको छ भने प्रदेश नंं ३ को सन्दर्भमा १२ औं नम्बरमा हामी पर्दछौं ।
६) जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा हुनु अघि खानेपानीको पनि उत्तिकै प्रवन्ध हुन आवश्यक छ । जिल्लामा खानेपानीको पहुँच कतिको देख्नु हुन्छ ?
खानेपानीको प्रशस्त स्रोत भएको हाम्रो जिल्लामा यसको ब्यबस्थापन र प्रबन्धमा हामीले धेरै स्रोत साधन परिचालन गरिसकेको तथ्यांक हामी माझ प्रशस्तै छ । भुकम्प पछि खानेपानीको मुहान सुक्न गएको भन्ने केही कुराहरु पनि आएको छ । तैपनि हामीले हेर्दा जिल्लामा खानेपानीको प्रबन्धमा केहि समस्या छ जस्तो लाग्दैन । स्थानीय, प्रदेश र केन्द्रले धेरै योजनाहरु निर्माण र सम्पन्न गरिसकेको छ । अझै योजनाहरु निर्माणका क्रममा पनि छन् । समग्रमा जिल्लामा खानेपानीको समस्या पछिल्लो समयमा मुहान सुक्ने देखि ठाउँ स्तारन्तरण हुने आंसिक समस्या भने छ ।
७) जुनसुकै घोषणाहरु पनि पूर्ण प्रतिशत नभई घोषणा गर्ने गरिएको छ तर आवश्यक पूर्वाधार बिनानै हतारमा घोषणा गर्नाले दिगो र परिणाम राम्रो हुँदैन नी ?
बिगतमा भएका हुन सक्छन् । तर हामीले घोषणा गरिरहँदा हामी के कुरामा विश्वस्त छौ भने हाम्रो पूर्वाधार बनिसकेको छ । पक्की शौचालय पूर्ण रुपमा बनि नसकेको छ तर अस्थाई शौचालयको प्रयोग सबैले गरिरहेको छ र नागरिकहरुमा खुला क्षेत्रमा दिसा गर्नुहुन्न भन्ने चेतनाको बिकास भईसकेको हुँदा यो भन्दा बलियो आधार अरु केही खोजि रहनु पर्छ भन्ने लाग्दैन ।
८) जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरेपछि जनतामा सकरात्मक परिवर्तनको अपेक्षा कस्तो गर्नु भएको छ ?
घोषणा एउटा औपचारिक प्रकृया हो । यसबाट सिन्धुपाल्चोकको आम नागरिकहरुको सरसफाईमा र रहन सहन आचारण देखि लिएर अनेकौ हिसावले जिवन स्तर माथी उठी सकेको छ त्यस कारण अब सिन्धुपाल्चोकका सबै समुदायहरु एवं आम सचेत नागरिकहरुमा सफा सुन्दर समाज निर्माण गर्ने चेतनाको सकरात्मक विकास हुने अपेक्षा गरेको छु ।
९) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाको भावी रणनीति कस्तो बनाउनु भएको छ ?
जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकले जिल्लाको सरसफाई, खानेपानी लगायत अन्य विविध पक्षसँग समन्वय, सहकार्य, अनुगमन र सहयोग गर्ने मुलभुत कुरा हो । हामीसँग बिगतको जस्तो बजेट तथा योजना कार्यान्वयन गर्ने अधिकार नभएतापनि जिल्लाको समग्र विकासका लागि सबै तह र पक्षसँग हामी सहकार्य गर्दै अघि बढिरहेको अवस्था हो र भावी दिनमा पनि यो निरन्तर रहिरहन्छ । जिल्लालाई पुनर्निमार्णको हिसावले पूर्ण सम्पन्न जिल्लाको रुपमा पहिचान दिने र सेवा मैत्रि जिल्ला, उत्पादनमुखि जिल्लाको रुपमा पहिचान दिने हाम्रो रणनिति छ ।
१०) अन्त्यमा यस पत्रिकामार्फत सिन्धुबासीलाई भन्ने कुरा केही छ ?
हामी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दैछौं । यो सम्पूर्ण जिल्लाबासीहरुको कार्यक्रम हो त्यसैले यस कार्यक्रमलाई सफल पार्न सबैको सकरात्मक भूमिकाको अपेक्षा सहित सहभागीताको लागी हार्दिक आमन्त्रण गर्न चाहन्छु । धन्यवाद ।
धन्यवाद ।।