जवानी र युवा

बि.बि.रायमाझी “अशोक”

हामी उमेरका विभिन्न चरणहरु पार गर्दै मृत्यु स्वीकारेका सचेत प्राणी हौं । हामी मध्ये सबै जवानी युवा हुदैनौं । जवानी अन्तत मृत्यु घाटमा अवश्य पुग्छ । तर युवा मर्ने बेलासम्म युवा नै रहन सक्छ भने त्यो व्यक्ति दिवंगत पश्चात पनि मृत्युघाटमा पुग्दैन अथवा उसको मृत्यु हुदैन । जवानी भनेको मानिसको उमेरको निश्चित अवधि हो । यो जन्मदेखि नमरुन्जेल सम्म रहँदैन तर युवा चेतनाले परिपक्व भएदेखि जीवनको अन्तिम घडीसम्म पनि युवानै रहन्छ । जवानी शरीर हो भने युवा चेतना हो । जवानी अन्धो हो भने युवा दृष्टिकोण हो । जवानी आवेग हो भने युवा विवेक हो । जवानीमा असभ्यता हो भने युवामा सभ्यता । जवानीमा विश्वासघात हुन्छ भने युवामा समर्पण विश्वास । जवानी दिशा विहिन र अनियन्त्रित हुन्छ भने युवाको निश्चित लक्ष्य हुन्छ । जवानी रुपमा लठ्ठ पर्छ, मोहित हुन्छ । कुनै अवस्थामा पागल हुन्छ भने कुनै अवस्थामा आत्मा हत्या पनि गर्दछ । विचारमा होइन रुपमा तुलना गर्छ । कस्ती चिटिक्क परेकी सुन्दरी, मृगको जस्तो आँखा, कमिलाको जस्तो कमर, कोइलीको जस्तो मिठो स्वर, गहुँको पिठो जस्तो गोरी, घोडाको पुच्छर जस्तो कपाल, गुलाव फूलको रंग जस्तो गुलावी ओठ आदि आदि । आफ्नो जवानीलाई उपभोगवाद भित्र डुबाउछ । कमाउँ, खाउँ, मोजमस्ती गर, भोलीको लागि नसोच । आफ्नो उन्मत्त शरीरलाई कस्को जिम्मा लगाउँ । यसले रुपमा तुलना गर्छ, महिलाहरुको सुन्दरी प्रतियोगिता गर्छ । बृद्धबृद्धाको गर्दैन, हातमा ठेला उठेका, भारी बोक्दा तालु खुइलिएका, पाइताला चिरिएका भरियाहरुको बीचको प्रतियोगिता गर्दैन, युवाले त घृणा र तिरस्कार गर्छ ।
युवा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी हुन्छ । उसको हृदय विशाल हुन्छ । विचारमा विश्व ब्रम्हाण्ड हुन्छ । उ परनिर्भर हुदैन, आत्मानिर्भर हुन्छ । आफ्नो सुन्दर भविष्यको गर्भधारण आफै गर्छ, जन्माउछ अनि जीवनलाई जगतमा क्रियाशील बनाउँछ । जसले सहि विचार ग्रहण गर्छ । प्रत्येक शब्द जनताको निम्ति बोल्छ, पाइला जनताको निम्ति चाल्छ । जनताबाट एकछिन छुट्दैन सधैभरि जनताको साथमा रहन्छ, आफ्नो भविष्य भन्दा जनताको भविष्य बनाउन हरदम खटिरहन्छ । आफ्नो ज्यानको भन्दा जनताको बढी माया गर्छ । सबै क्षेत्रमा आफूलाई बिर्सिएर जनताको आँगनीमा सुख र समृद्धिको बहार ल्याउँदै राष्ट्रियतालाई मजवुत पार्ने उसको दृढ संकल्प हुन्छ । युवाले मानिसको उमेरलाई भन्दा कर्मलाई महत्व दिन्छ । जनताको दुश्मन सामु झुकेर दिनदिनै मर्ने कायर भन्दा फाँसीमा झुण्डिन तयार हुन्छ, तथापी झुक्दैन कहिल्यै युवा । त्यसैले युवा उमेर होइन बैज्ञानिक बिचार हो । जनताको पसिना आफ्नो शरिरमा रगत बनाई बोक्ने अथक सिपाही हो । मानिसको रुपलाई मात्र युवा मान्न सकिन्न । संसारका अरबौ मानिस युवाको शब्दकोश भित्र पर्दैन । नयाँ युग ल्याउन नयाँ विचार बोकेका निश्वार्थी, निडर, निश्कलंकित कडा मेहनती इमान्दार मानिस युवाको परिभाषा भित्र पर्दछ । युवा शोषकको दासत्व स्वीकार्दैन, आफूलाई जनताको मालिक स्वीकार्दैन बरु शोषकलाई दास र जनतालाई मालिक बनाउने सिद्धान्तमा प्रतिबद्ध र समर्पित हुन्छ । जहाँनिया राणा शासनको अन्त्य गर्न २००७ साल, निरंकुश पंचायती व्यवस्थाको विरुद्ध २०४६ साल र १० बर्षे महान जनयुद्धमा मृत्यु या मुक्तिको कसम खाँदै बर्गीय युद्धमा गर्जिनेहरु सबै युवा हुन चाहे ती १० बर्षका हुन या ७० बर्ष नाघेका, चाहे ती २७ बर्षमा शहिद भएका भीमदत्त पन्त हुन या ७० बर्षको उमेरमा हातमा तरबार लिएर अंग्रेज माथि झम्टने भक्ति थापा हुन, चाहे महान जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल (सार्की) हुन, चाहे रोल्पाका ६५ बर्षीय बरदान रोका हुन, चाहे राणाहरुले हत्या गरेका शुक्रराज शास्त्री, धर्मभक्त ,दशरथ र गंगालाल हुन । चाहे फ्रान्सका विश्व विख्यात साहित्यकार ८३ बर्षमा मृत्यु भएका भिक्टर ह्युगो हुन । चाहे ६८ बर्षमा निधन भएका बेलायतका बैज्ञानिक रबर्ट हुक हुन, चाहे ८९ बर्षका बेलायतका विश्व विख्यात साहित्यकार ह्रयारोल्ड पिन्टर हुन, चाहे ५२ बर्षको उमेरमा इटालिका शासकद्धारा गोली ठोकी हत्या गरिएका जोर्डानो ब्रुनो हुन्, चाहे ४० बर्षको उमेरमा हिटलरद्धारा फाँसी दिइएका चेकोस्लो भाकियाका जुलियस फ्युचिक हुन्, चाहे स्पेनका शासकद्धारा हत्या गरिएका ३८ बर्षिय गार्सिया लोर्का हुन्, चाहे ५४ बर्षको उमेरमा निधन भएका लेलिन हुन् त चाहे ८३ बर्षको उमेरमा निधन भएका माओत्सेतुङ्घ हुन् उहाँहरु जीवनको अन्तिम घडीसम्म पनि युवा नै हुनु हुन्थ्यो ।
जवानीले जनमुक्तिको सपना देख्दैन, सपना देख्छ त फगत आफ्नो । जवानी आफ्नो सपनामा निदाउँछ तर युवा लाई राष्ट्रिय स्वाधिनता र जनमुक्ति सपनाले निदाउन दिदैन । जवानीलाई सामन्त, दलाल र नोकरशाहरुले किन्न सक्छ तर युवालाई कुनै पनि हालतमा किन्न सक्दैन । जवानीले सुरासुन्दरी र विलासितालाई आफ्नो सफल जीवन ठान्छ त युवाले मुक्ति संर्घषलाई । जवानीले जनताको रगत पिउछ त युवाले जनतालाई रगत दिन्छ ।
यतिवेला नेपाललाई जवानीको होइन युवाको खाँचो छ । प्रत्येक मन्त्रालयभित्र शताब्दीऔ देखि जवानीको घुषपैठ छ । अधिकांश सैनिक र प्रहरीका अफिसरहरुले आफ्नो जवानीको औकात देखाइरहेका छन् । भर्खरै मात्र एनसेलको कर प्रकरणमा सर्वोच्च अदालतले आफ्नो जवानीको फूर्ति देखाएको छ । गरिब र इमान्दार जनतालाई उल्लु बनाएको छ । देशलाई समृद्धिको दिशामा लैजाने हाम्रो सपनामाथि कुठराघात गरेको छ । यस्ता सयौ घटनाहरु छन् जसले नेपाली युवाहरुलाई सत्य र न्यायको पक्षमा बोल्न जागरुक र सचेत बन्न बाध्य बनाएकोछ ।
हाम्रो साहु महाजन र घुसस्याहरुको नूनपानी खाएर युवा बन्न सक्दैनौं । तिनीहरुले नै लेखेका नीतिशास्त्र पढेर हामी नैतिकवान र अनुशासित युवा बन्न सक्दैनौ । आफ्नै शरीरबाट निस्केको रगत, पसिना र आँसु हाम्रा जीवनका नीति शास्त्र र आर्दश हुन् । कोशीमा जनताको घर डुवानमा पर्दा भारतको रबैयाहरुप्रति हिमाली युवा आक्रमक बन्दछन् । तराईका घर, बस्तीहरु आँधी हुरीले उडाँउदा पहाडका युवा खुत्रुके फुटाउछन् । पहाडमा पहिरोले बस्ती बगाउदा तराईका युवाहरु अन्न उठाउछन् । भष्ट्रचारी बाउलाई मुखभरी पिच्च थुक्न आफ्नो नैतिकता ठान्दछन् नेपाली सचेत युवाहरु । त्यसैले विदेशी रक्सीमा मदमत्त भएर झिम्कीको अपवित्र अभिलाषामा आफ्नो जीवन वर्बाद नगरौं । देशलाई नव औपनिवेशिक पञ्जाबाट मुक्त गराएर स्वतन्त्र र समृद्ध राष्ट्र बनाउन जागरुक निर्भिक र अनुशासित नेपाली युवा बन्ने आँट गरौं ।