हेलम्बु गाउँपालिकाको पशु बिमा कार्यक्रम

किउल (सिन्धुपाल्चो), हेलम्बु गाउँपालिकाले आफ्ना पालिकाका किसानहरुलाई पशु विमा गरिदिएको छ ।
हेलम्बु गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको पशु बिमा कार्यक्रमलाई यस वर्ष निरन्तरता दिएको हो । गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै वडाका किसानहरुलाई लक्षीत गरेर ल्याएको पशु बिमा योजनाले हेलम्बुका सयौं किसानहरु लाभान्दित भएका छन् ।
किसानलाई प्रोत्साहान सोरुप बिमा गरिदिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार गाउँपालिकाले किसानलाई ७५ प्रतिशत रकम व्यहोरेको थियो ।
किसानहरुलाई लक्षीत गरेर गत वर्षदेखि गाउँपालिकाले पशु बिामा गरेपछि धेरै किसानहरुलाई सहयोग पुगेको उनले बताए । हामीले किसानहरुलाई बिमा बापतको रकम बुझ्न काठमाडौं जान नपर्ने गरी पालिकामै व्यवस्था गरेका छौं‘, निमाले भने । जिल्लाका अन्य गाउँपालिकामा यस किसिमको सुविधा नभएको अध्यक्ष निमाको दावि छ ।
किसानहरुलाई धेरै भन्दा धेरै सुविधा होस भनेर आफुहरुले यो वर्ष यो कार्यक्रमलाई अझै प्रभावकारी बनाउन लागेको शेर्पाले बताए ।
हेलम्बु गाउँपालिका भित्र रहेका विभिन्न कृषक फर्म र व्यक्तिगत रुपमा समेत गरी ७ सय बढी पशुहरुको बिमा गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । निम्न आएस्तर भएका ग्रामीण क्षेत्रका स्थानीयको गाइ, भैंसी मरेपछि धेरै समस्या हुने गरेको कारण गाउँपालिकाको सहयोगमा यो वर्ष अझै अभियानका रुपमा प्रत्येक किसानहरुलाई बिमा गर्न लगाउने योजना रहेको शेर्पाले बताए ।
गत वर्ष पशु बिमाबापत हेलम्बु गाउँपालिकाका किसानहरुलाई १३ लाख रुपियाँ बिमा रकम प्रदान गरिएको थियो । हेलम्बु गाउँपालिकाका विभिन्न खर्कहरुमा एकै जनाको २ सय बढी पशुहरु पाल्ने गरेका छन् । स्मरण रहकोस गाउँपालिकाले किसानहरुको खर्क र गोठमा नै गएर पशु बिमा गरिदिएको थियो ।