हेलम्बुका खर्कका किसानलाई झिलीमिली

हेलम्बु । हेलम्बु गाउँपालिकाले लेकको खर्कमा चौंरीगोठ राख्दै आएका किसानलाई सोलार वितरण गरेको छ । टुकी र सिठो बालेर खर्कमा बस्दै आएका किसानहरुलाई स्थानीय सरकारले सोलार वितरण गरेको हो । खर्कमा परम्परागत पेशा गर्दे आएका किसानहरुलाई लक्षित गरेर उज्यालोका लागि सोलार वितरण गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ’लेखको खर्कमा जाँदा कृषकहरुले अध्यारोमा बस्दा निकै कठिनायी भएको हामीले पायौं यसकारण सोलार वितरण गरेका हौं‘, अध्यक्ष निमाले भने । उनका अनुसार खर्कका २० किसानहरुलाई बत्ती बाल्नका लागि सोलार प्यालन वितरण गरेको छ । गाउँपालिकाले तिन वटा बत्ती बाल्न र मोबाइल समेत चार्ज गर्न मिल्ने सोलार प्यानल खर्कका किसानहरुलाई वितरण गरेको हो । बत्ती बाल्न र फोन चार्ज गर्न मिल्ने भएपछि खर्कका किसानहरु निकै खुशी भएका छन् । खर्कका किसानलाई सोलारवत्ती वितरणपछि उनीहरु लेकमा बस्न रुचाएको अध्यक्ष निमाको तर्क छ ।
गर्मियाममा हिउँपर्ने ठाउँसम्म पुग्ने चौरी गोठ असोज लागेपछि तल तल बेशीतिर झर्ने निमाले बताए ।

‘गाउँ घर त उज्यालो छ, तर खर्कमा बस्ने किसानहरु सधै अध्यारोमा बस्नुपर्ने भएपछि आफुहरुले खर्कमा रहेको गोठलाई पनिउज्यालो बनाउन यो अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । गाउँपालिकाले कृषकहरुलाई लक्षित गरेर पशु बिमा, गोठका लागि सोलार र घाँसको बिऊ प्रदान गरेर किसानहरुलाई कृषिमा लाग्नको लागि उत्प्रेरण दिएको अध्यक्ष शेर्पाले बताए । खर्कमा रहेको गोठमा जाँदा किसानहरुले अध्यारोमा बस्न समस्या भएको बताए पछि गाउँपालिकाले गत वर्षको बजेटबाट सोलार खरिद गरेर किसानहरुलाई प्रदान गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

पर्यटकीय क्षेत्र हेलम्बुका धेरै किसानहरु अहिले पनि लेकको खर्कमा ‘घुम्ती गोठ’ का रुपमा चौरी, भेडा पालन गरिरहेका छन् । गाउँपालिकाले परम्परागत घाँसको सट्टामा लेकमा हुने घाँसको बिऊ समेत किसानहरुलाई प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए । गत वर्ष खर्कमा राइ घाँसको विउ, किसानहरुलाई प्रदान गरेको र गाउँपालिकाले लोप हुन लागेको खर्कलाई संरक्षणका लासि अरु कार्यक्रमहरु पनि सञ्चालन गर्ने अधिकृत कोइरालाको भनाई थियो । गाउँपालिकाले चौरी पालक किसानहरुका लागि अनुदानमा सात वटा याक समेत प्रदान गरेको छ ।