वडा कार्यालयद्वारा सडक वृक्षारोपण

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १३ नम्बर वडा कार्यालयले सडक वृक्षारोपण कार्यक्रम थालेको छ । सडकलाई हरित सडक निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले करिब सवा किमी सडकमा वृक्षारोपन गरिएको छ ।
सयौं स्थानीय सहित सोमबार गरिएको उक्त सडक वृक्षारोपनको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बस्याल तथा वडा अध्यक्ष रामप्रसाद गौतम लगाएतले शुभराम्भ गरेका हुन् ।
उन्नत जातका २ सय ५० थान कपुर र कुल्फीका बिरुवा सडकका दायाँ भागमा वृक्षारोपन गरिएको १३ नम्बर वडाका वडाअध्यक्ष गौतमले जानकारी दिए । उनका अनुसार उक्त वृक्षारोपन कालोपत्रे गरिएको जल्केनी घुम्ती देखि सातदोबटे सम्मको सडकमा गरिएको हो ।
वडाअध्यक्ष गौतमका अनुसार उक्त कपुर र कुल्फिको बजार मूल्य ५ सय देखि ७ सय सम्म पर्न आउँछ । उक्त विरुवाको उत्पादन स्थानीय रामशरण विकले गरेका हुन् । वडा कार्यालयको आफ्नै लगानीमा गरिएको उक्त वृक्षारोपनको लागि वडा कार्यालयबाट २ लाख छुट्याएको उनले बताए । उनका अनुसार विरुवा संरक्षण गर्न ढाकिने जालीफ्रेम प्रतिगोटा १ हजार ४ सय ६० मूल्य पर्दछ । विरुवा खरिद, फ्रेम, खाल्टो खन्न प्रयोग गरिएको मेशिन तथा अन्य जनशक्ति समेत गरेर लाग्ने लागत जोड्दा छुट्याईएको बजेट अपुग हुने उनले बताए ।
जलकेनी–ठूलोसिरुवारी सडक ३ नम्बर प्रदेशको सहयोगमा सवा किमी कालोपत्रे भईसकेको छ । जलकेनीबाट वडासम्म साँडे २ किमी दुरी रहेको छ ।