चेलीबेटीको तीज

बि.बि.रायमाझी “अशोक”

सधैं भैmं यसपाली पनि महिलाहरुले तीज पर्व आफ्नो गच्छे र चाहाना अनुसार मनाउँदैछन् । बर्षेझरी र हिलोको प्रतिकूल मौसममा अत्यन्तै कष्टकर जीवन बिताएका चेलीबेटीहरुको निम्ति सफा र खुला निलो आकाश मुनिको हरियाली बस्तीहरुमा मनका दुःखहरु बिसाउदै अनेक भाकाहरुमा गीत गाँउदै अनि नाच्दै गर्दा बिगतका दुःख बिर्सेर हर्षोल्लासमा सामाजिक सद्भाव अझै बढेको महसुुस हुन्छ । जो सुकैलाई पनि बालककाल देखि स्याहार संभार गर्दै आएको आफ्नो जन्मघरलाई चटक्कै छाडेर आँगनबाट डोली चढाएर पराइको घर पठाउँदा धरधरी रोइरहेको चेलीको मन बर्ष दिन पछि माइतीलाई भेट्न पाउँदा खुशीले मन गद्गद हुन्छ नै, त्यसमाथि खुशीले उकासिएका मनहरु पुराना आफ्ना साथीहरुसंग भेट्दा छुट्टै उमंगको महसुस नहुने कुरै भएन । बर्षै साल तीज पर्व आउँछ जान्छ यो सामान्य कुरा हो । तर यसले समाजको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको क्षेत्रमा कतिको महत्वपूर्ण योगदान दिन सकेको छ भन्ने मुख्य कुरा हो अथवा तीज पर्व भावानात्मक पक्षमात्र हो वा यो संग इतिहास र परिवर्तनको वैचारिक पक्ष पनि जोडिएको छ भन्ने कुरा हो । विगतले वर्तमान जन्माउछ, यो सार्वभौमिक सिद्धान्त हो । तर स्वतस्फूर्त होइन कुनै पनि वर्गको सिद्धान्त र विचारले अगुवाइ गरेकै हुन्छ । यसरी केलाउँदा तीज पर्व कुन वर्गको, कुन समुदायको निश्चित विचारको आधारमा घटेको घटनाबाट यो पर्व मनाउँने चलन चल्दै आएको हो त ? किमदन्ती अनुसार पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले महादेव स्वामी पाँउ भनि धेरै बर्षसम्म तपस्या गरेको र त्यसैको कारणले महादेवसंग विवाह भएको सोही घटनालाई आधार बनाएर हरितालिका (तीज) मनाउँदै आएको हो भन्ने भनाई छ । यसरी तीज र अन्तरराष्ट्रिय नारी दिवसमा निकै भिन्नता छ । तीज पर्व कुनै जमानामा एउटी महिलाले एउटा पुरुषलाई आफ्नो लोग्ने बनाउन कठोर ध्यान, तपस्या गरेको देखिन्छ भने अन्तरराष्ट्रिय नारी दिवस सम्पूर्ण उत्पीडित एंव श्रमिक महिलाहरु आफ्नो हक अधिकार प्राप्त गर्नको लागि रगतको खोलो बगाएर लडेको वास्तविक इतिहास छ । तीज पर्वको इतिहास अमूर्त छ र दार्शनिक आधार अध्यात्मकवादी छ तर अन्तरराष्ट्रिय नारी दिवस मूर्त छ र यसको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवादी छ । तीज पर्व परम्परा, बर्षै साल आउने जाने चक्रिय रुपमा छ । प्रेरणाहीन छ भने नारी दिवस परिवर्तन पक्षमा हुंकार बोकेको छ । यो प्रेरणादायी र प्रतिवद्धतापूर्ण छ । अब प्रश्न उठ्ला त्यसो भए के तीज भनेको अनावश्यक र औचित्यहिन हो ? अबदेखि बहिष्कार गर्ने नै हो त ?
कसैलाई यस्तो लाग्न पनि सक्छ । तर कुरो त्यसो होइन हामीले विगतको भन्दा धुमधामसंग तीज मनाउनु पर्छ । विवेकहिन होइन विवेकशील भएर, तर्कहिन होइन तर्कशील भएर, निराशावादी होइन आशावादी भएर, असंगठित होइन संगठित भएर, तागतलाई पर्दाभित्र लुकाएर होइन खुल्ला मैदानमा हुँकार छोडेर यथास्तिथिमा विलय गराएर होइन परिवर्तनलाई आत्मसात गरेर तीज मनाउनु पर्छ । विचार विनाको कला र मनोरञ्जनको के अर्थ ? त्यसैले यो पर्व तपाईहरुले मनोरञ्जन र आन्दोलन दुबै उदेश्यका साथ मनाउनु पर्छ । मागेर अधिकार पाइदैन आन्दोलनबाटै प्राप्त गर्न सकिन्छ । आन्दोलनबाटै सत्य र न्यायलाई स्थापित गर्न सकिन्छ । आन्दोलबाटै अनेकतालाई एकतामा बाध्न सकिन्छ । आन्दोलनबाटै विकृतिलाई हटाएर सभ्यताको जग बसाँल्न सकिन्छ ।
आजकल तीजको कार्यक्रम महिना दिन अगाडि देखि मनाउने विकृति बढ्दो छ । समाज र अभिभावकलाई विर्सेर समाजको लागि म के हो होइन, मेरो लागि समाज केही होइन भन्दै सामाजिक सञ्जाल मार्फत एकाङ्की सोचको आधारमा हुने कथित प्रेम विवाहको विकृति पनि बढ्दोछ । सम्पतिको लोभमा बुबाले छोरीलाई हत्या गर्छन् । छोरीले आमाको हत्या गरेका छन् । छोराले आमाको हत्या गरेकाछन् । रक्सी खाई श्रीमतिको शरिरमा मट्टितेल, पेट्रोल खन्याएर जिउदै जलाएर मारेका छन् । गर्भमै छदाँ छोरी भए एभर्सन गर्ने वा छोरा बनाउने, छोरी नै छोरी पाइ भनेर हेला गर्ने, बहुविवाह गर्ने, दाइजो ल्याइन भनेर कुटेर मार्ने वा घरबाट निकाल्ने, बोक्सी भनेर मानिसकै दिसा खुवाउने, पूँजीपतीहरुको माल विकाउनका लागि विज्ञापनको साधन बन्न सुन्दरी प्रतियोगिता गर्ने, तराईमा घुम्टो प्रथा, पश्चिममा झुमा प्रथा, देउकी प्रथा, छाउपडी प्रथाद्धारा महिलाहरुको अपमान गरिदै आएको छ । बाहुनको छोराले बिहे गरेको सार्किकी छोरीलाई रुढीवादी समाजले गाँउबाट निकाल्दै गर्दा के तपाई तीजमा फुरुङ्ग हँुदै नाच्न सक्नुहुन्छ ? निर्देाषी चेलीलाई बोक्सीको आरोपमा मानिसको दिसा खुवाइरहँदा तीजको जात्रामा के तपाइको गलाबाट नारी मुक्ती र स्वतन्त्रताको सुरिलो स्वर निस्कन सक्ला ? छोराले आमाको छातीमा चुपी रोपिरहेको बेला छमछमी नाच्न के तपाइको मनले मान्ला ? पल्ला गाउँकी सानीलाई गुण्डाले बलत्कार गरेर झाडीमा फालेको अवस्थामा तीजको दर के तपाईको निम्ति मिष्ठान्न भोजन बन्न सक्ला ? डल्ले साहुले छोरा हिरामणीले सौता भित्याउँदा तीनमा के तपाई नारी हक अधिकारका गीत गाउन सक्नु होला ? श्रीमानको आयु बढाउन तपाई ब्रत बस्नु हुन्छ भने के तपाईको श्रीमान पनि तपाईको आयु बढाउन ब्रत बस्नु हुन्छ होला? यदि ब्रत बस्दैमा आयु लम्वीने वास्तविकता हो भने धेरै श्रीमती भए झन आयु बढ्छ भन्ने सोचले बहुविवाहको संस्कार बस्दैन होला ?
फेरिएको राजनैतिक व्यवस्था संगै तिज मनाउने संस्कार पनि फेर्नु पर्छ । भष्टाचार र कमिशनलाई आफ्नो जीवनको सफलतासंग जोड्ने राष्ट्रिय किटाणुहरुको बिरुद्ध, बलात्कारलाई आफ्नो क्षणिक रोमान्स सम्झने सामन्तका ठिमाहा छाउराहरुको विरुद्ध मादलुको घिन्ताङ्ग र हारमोनियमको सुमधुर संगीतसंगै, मुचुङ्गा र सारङ्गीको मिठो ध्वनी संगै तपाईहरुले आफ्नो गीत धन्काउनुपर्छ । तपाईहरुको हरेक गीत, संगीतका झंकार र शब्दहरुले काम नगरी पैसा लुट्ने ठेकेदारहरुको मुटुमा बम पट्काउनुपर्छ । दलाल र कमिशन खोरीहरुको छातीमा रोप्ने संगीन हुनुपर्छ । कुरिति, कुशासन, अन्धविश्वास, छुवाछुत र सामाजिक भेदभाव विरुद्ध आगो आकेल्नुपर्छ । राष्ट्रलाई एकताको सुत्रमा बाँध्न र जातीय वर्गीय सद्भाव कायम गराउन राजनैतिक, साँस्कृतिक रुपान्तरण गराउने तपाईहरुको यसपालीको तीजले महत्वपूर्ण भूमिका निभाउनु पर्छ ।