हर्जना तिर्दै काम गर्दै ठेकेदार , लामोसाँघु–जिरी सडकबाट १५ करोड असुली
लामोसाँघु (सिन्धुपाल्चोक), ठेकेदारको ढिलाई र लापरबाहीको कारण निर्माणमा ढिलाई भएको लामोसाँघु जिरी सडकमा ठेकेदार कम्पनीबाट १५ करोड असुली भएको छ । खाडीचौरदेखी मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती, भारतीय सिमाञ्चल र गौरी पार्वती कम्पनीबाट ५ करोड र मुडेबाट चरिकोट सम्मको ३० किलोमिटर सडकको जिम्मा लिएको भारतको सकिल हैदर, शंकरमाली र सुनौलो खिम्तीबाट १० करोड असुल भएको सडक डिभिजन कार्यालय चरिकोटका सडक डिभिजन प्रमुख तथा लामोसाँघु जिरी सडक सुधार आयोजनाका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए ।
२०७१ सालमा दुई वर्षको लागि निर्माण सम्पन्न गर्ने गरी दुई ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएकोमा सुनौलो खिम्तिले बिचैमा हात झिकेपछि तल्लो क्षेत्रमा गौरी पार्वती र माथिल्लो क्षेत्रमा शंकरमालीले कामको जिम्मा लिएको थियो तर पटक पटक म्याद थपेर तिन बर्ष गुज्रिदा पनि काम सम्पन्न नभएपछि नियम अनुसार हर्जना गरिएको डिभिजन प्रमुख झाले बताए । ’नियम अनुसार नै उहाँहरुबाट हर्जना लिईएको हों‘, डिभिजन प्रमुख झाले भने । उनका अनुसार सरकारको नियमा समयसिमा नाघेमा ठेकदार कम्पनीले कुल रकम मध्ये कबुल गरेको १० प्रतिशत हर्जना तिर्नुपर्छ । त्यस्तो हर्जना लाग्ने समय २ सय दिनको भएको उनले बताए ।
भारतयी एक्जिम बैंकको डेड अर्ब लगानीमा निर्माण हुने उक्त कालोपत्रे सडक निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुने अवस्था देखिएको छैन् । हर्जना तिर्दै काम गरिरहेका उक्त दुई कम्पनीले जेठ सम्म सम्पन्न गरिसक्नुपर्ने छ । जेठसम्म हर्जनाको म्याद पनि सकिने हुँदा त्यसपछि उनीहरु विरुद्व के गर्ने भन्ने सन्दर्भमा अहिले सम्म कुनै धारणा नबनाएको डिभिजन प्रमुख झाले बताए ।
उक्त सडक खण्डको खाडीचौर देखि मुडे सम्म ७ किमी सडक कालोपत्रे गरेपनि केही समय अवरोध भएको थियो । सोमबारबाट फेरी सुचारु गरेर झण्डै दुई किमी सडक कालोपत्रे गरिएको उनले बताए ।
राजधानीपुर्वका चार जिल्लाको मुख्य आवातजावतको रुपमा रहेको लामोसाँघु जिरी सडक समयमा नै काम नहुँदा सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाका सयौ यात्रुहरु लामो समयदेखि कष्टकर यात्रा गर्न बाध्य छन् ।
स्मरण रहोस् स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु–जिरी सडक सन् १९७५ देखि १९८५ सम्म निर्माण सम्पन्न भएको थियो । सडक साँघुरो भएपछि बि.स २०७१ लालबाट चौडा सहित स्तर उन्नती थालिको हो ।