सिन्धुपाल्चोकमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

दिनेश दुलाल
चौतारा । सिन्धुपाल्चोकमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना वृद्वि भएको देखिएको छ । पछिल्लो २ बर्षमा ३ सय ८१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको सिन्धुपाल्चोक अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । जिल्ला अदालतले तयार गरेको वार्षिक प्रतिवेदन अनुुसार अघिल्लो आब ०७४÷७५ मा १ सय ३८ थान सम्बन्ध विच्छेद्का मुद्दा दर्ता भएकोमा गएको आब ०७५÷०७६ मा २ सय ४३ थान मुद्दा दर्ता भएको हो । अघिल्लो आवको तुलनामा यस वर्ष १ सय ५ थान सम्बन्ध विच्छेद्का घटना वृद्वि भएको तथ्याङ्कले देखाउँछ । गएको आवमा २ सय ४३ मध्ये १ सय ७४ फछ्र्यौट भईसकेको र बाँकी ६९ थान यो आर्थिक बर्षमा जिम्मेवारी सरेको श्रेस्तेदार पोडेलले जानकारी दिए ।
पछिल्लो ५ वर्षको तथ्याङ्ग हेर्दा सम्बन्ध बिच्छेद्को संख्या २ गुणा बढेको छ ।
अदालतको तथ्याङ्ग हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेद्का घटना वृद्वी हुदै गएका छन् । जसमा पछिल्लो पटक महिलाको तुलानमा सम्बन्ध विच्छेद् गर्न आउने पुरुषको संख्या बढेको देखिन्छ । गत आर्थिक बर्षको भदौं देखि देवानी संविता ऐन २०७४ लागुभए संगै पुरुषले पनि सम्बन्ध विच्छेद्को लागि अदालतमा उजुरी दिन पाउने हक कायम भएसंगै पुरुषको संख्यामा वृद्वि भएको हुनसक्ने अधिवक्ता शशिनाथ आचार्यको तर्क छ । ’अलि बढी जनजाती समुदायमा बढी देखियो‘, अभिवक्ता आचार्यले भने । उनका अनुसार जनजाती तथा अन्य समुदायमा श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतिले अर्को विवाहा गर्ने तथा श्रीमति जाँदा श्रीमानले अर्को विवाहा गर्ने कारणले गर्दा सम्बन्ध विच्छेदका घटनामा वृद्वि आएकोे हो । त्यसको साथसाथै घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएको उनले बताए । पुरुष तथा महिलाहरु सम्बन्ध विच्छेद्का निवेदन लिएर आफै वा कुनै माध्यमबाटै अदालत सम्म पुग्ने गरेका छन् । अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरिएको भेटिएको छ । अदालतमा आएका घटनाको प्रकृति हेर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेको तथ्याङ्कले देखाउँछ ।
कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहँुदै टुट्ने गरेको अर्का अधिक्ता चन्द्रकुमार बस्नेतको तर्क छ ।
स्थानीय तह गठन भएसंगै स्थानीय न्यायिक समिति तथा मेलमिलाप केन्द्रले सम्बन्ध विच्छेद्का घटनालाई केही सहजीकरण गरिएका कारण केही कमी भएको श्रेस्तेदार पौडेलको तर्क छ । त्यसमाथि अदालतले समेत सकेसम्म पती पत्नी बीच मेलमिलापको पहल गरेको उनले बताए ।
यसैबीच गत आवको ०७५÷०७६ मा सिन्धुपाल्चोक जिल्ला अदालतमा ७ सय २७ थान मुद्दा दर्ता भएकोमा ५ सय ३४ थान मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार पौडेलले जानकारी दिए । जसमा बाँकी रहेको १ सय ९३ थान मुद्दा यस आवमा जिम्मेवारी सरेको उनले बताए । गत वर्ष सबैभन्दा बढी पारिवारिक विवाद अन्र्तगतका मुद्दा ३ सय ५० थान रहेकोमा २ सय ६५ फछ्र्यौट भएको छ भने ८५ यस वर्षको लागि जिम्मेवारी सरेको छ । अपराधका अन्य घटना भने केही मात्रमा कमी देखिन्छन् ।