जिल्लाकै नमुना मिनी रंगशाला चौतारामा


चौतारा (सिन्धुपाल्चोक)
सदरमुकाम चौताराको टुँडिखेलमा जिल्लाकै नमुना मिनी रंगशाला बन्ने भएको छ । ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरेका हुन् ।
शिल्यान्यास पछिको औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै ३ नम्बर प्रदेशका सामजिक विकासमन्त्री दुलालले गौरवको आयोजनाको रुपमा चौतारामा मिनी रंगशाला निर्माण अघि बढाइएको बताए । राजधानीबाट नजिक रहेको चौतारामा रंगशाला आवश्यक रहेकोले मिनी रंगशाला निर्माणमा जोड दिएको बताए । ’सिन्धुपाल्चोकको महत्वपूर्ण ठाउँ सदरमुकामै केन्द्र भाग बनाएर यहाँ मिनी रंगशाला बनाउने निर्णय गरेका हौं‘, मन्त्री दुलालले भने, ’रंगशाला निर्माण संगै खेल क्षेत्रले गुणात्मक फड्को मार्छ ।‘
मन्त्री दुलालका अनुसार ३ नम्बर प्रदेश मन्त्रालयले सिन्धुपाल्चोक सहित सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, दोलखा र रामेछाप गरी सात जिल्लामा चालु वर्षभित्रै उस्तै प्रकृतिका मिनी रंगशाला निर्माण अगाडि बढाइने योजना बनाएको छ । खेल क्षेत्रको विकास र आवश्यक भौतिक संरचना निर्माणलाई उच्च प्राथमिकता दिएको प्रदेश सरकारले ३ नम्बर प्रदेश अन्र्तगतका प्राय जिल्लाहरुमा कर्वडहल समेत निर्माण गरिएको उनले बताए ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले आफ्नो नगरपालिका भित्र गौरवको आयोजना मिनी रंगशाला बन्न लागेकामा सामजिक विकासमन्त्री दुलाललाई धन्यवाद दिए ।
रंगशाला निर्माण पछि त्यसको संरक्षणको जिम्मा नगरपालिकाले लिने समेत मेयर तामाङले उद्घोष गरे ।
प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, काभ्रेमार्फत ४१ करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त रंगशाला बहुवर्षीय योजना हो । क्रमागत थालिने योजना अन्तर्गत पहिलो वर्षमा रंगशाला निर्माणको लागि सामाजिक विकास मन्त्रालयले चालुसमेत दुई आर्थिक वर्षमा ११ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । उक्त रंगशाला निर्माणको लागि टक्सार र शान्तिदेवी जेभीले चालु आवमा ६ करोड रुपैयाँको ठेक्का पाएको छ ।
सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धुलिखेलले गत वर्ष मिनी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो। इकाइका अनुसार रंगशालाको फुटवल मैदान एन्फा (अखिल नेपाल फुटवल संघ) को मापदण्डबमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्याराफिट बन्ने छ भने पाँच सय सवारी साधन अट्ने पार्किङस्थल, ड्रेसिङ रुम लगायत संरचना बनाइने छ। जिल्ला प्रशासन कार्यालयको नाममा रहेको उक्त टुँडिखेलमा रंगशाला बनाउन कार्यालयले अनुमति दिएपछि प्रक्रिया अगाडी बढेको हो ।