अधिभूतवाद र भौतिकवादी द्वन्द्ववाद बारे

बि.बि.रायमाझी “अशोक”
मानव समाज, प्रकृति र पदार्थालाई बुझ्ने दुई विश्व दृष्टिकोणहरु छन् । एक अधिभूतवाद र अर्को भौतिकवादी द्धन्द्धवाद । अधि भनेको तल वा माथि वा पर भन्ने बुझिन्छ । यस्तै भूत भनेको पदार्थ भन्ने बुझिन्छ । यसर्थ अधिभूतवाद भनेको कुनै समाज, प्रकृति र पदार्थको विकास र विनाशलाई यसको आन्तरिक गुण वा दोषको आधारमा नभै बाहिरी कारण नै प्रमुख हो भन्ने चिन्तन पद्धती हो भन्ने बुझिन्छ । यसको ठिक उल्टो समाज, प्रकृति र पदार्थको विकास र विनाश हुन बाहिरी कारण प्रमुख नभै भित्री कारण नै प्रमुख हुन्छ । वस्तुको नयाँ र पुरानो, जीवनशील पक्ष र मरणशिल पक्ष वीच निरन्तर संघर्षशील भइरहन्छन् र नयाँ चीज पैदा हुन्छ भन्ने चिन्तन पद्ध्तीलाई भौतिकवादी द्वन्द्ववाद भनिन्छ । भौतिकवादी द्वन्द्ववाद माक्र्सवादी दर्शन अथवा श्रमजीवि वर्गको दर्शन हो भने अधिभूतवाद सामन्त र पूँजीपति वर्गको दर्शन हो । अधिभूतवादलाई दुई किसिमबाट बुझ्न र व्याख्या गर्न सकिन्छ । एक एकमनावाद र अर्को बहुलवाद ।
एकमनावादले छलफल र बहसलाई ठाउँ दिदैन । समाज, प्रकृति र पदार्थहरुको विपरित अस्तित्वलाई स्वीकार्दैन । यिनीहरुको अन्तरविरोधहरुको विशिष्टतालाई बुझ्न सक्दैन । यिनीहरुको अन्तरविरोधले नयाँ चीज पैदा हुन्छ भन्ने मान्यता राख्दैन । जनवादी अभ्यास हुन दिदैन, केन्द्रियता मात्र लागू गर्दछ । सिद्धान्तलाई सिद्धान्तको रुपमा होइन, जडसूत्रको रुपमा बुझ्दछ र नोकरशाही तन्त्र लागू गर्दछ । वस्तुहरुलाई संघर्षको माध्यमबाट परिवर्तन भन्ने कुरा स्वीकार्दैन । आफ्नो सोच, धारणा र मतलाई सर्वश्रेष्ठ ठान्दै दुनियालाई अगाडी बद्न दिदैनन् । हिजो जुन कुरा थियो आज त्यहि छ र युगौसम्म त्यहि नै रहने छ भन्ने परिवर्तन विरोधी मान्यता राख्दछन् । यो सोचले सामन्तवाद, सामन्ती राजतन्त्र र सैनिक अधिनायकतन्त्रको पक्षपोषण गर्दछ । नेपालमा जहाँनिया राणा शासन र निरंकुश पंचायती व्यवस्था यसका उदाहरणहरु हुन् । समाज अन्तरविरोधपूर्ण र गतिशिल हुने भएकोले त्यही वास्तविकता अनुसार आफू फेरिन नसक्ने आदर्शवादी एकत्ववादी सोचाई नै एकमनावादको विशेषता हो ।
बहुलवाद र माक्र्सवाद दुई भिन्दाभिन्दै दृष्टिकोण र सिद्धान्तहरु हुन् । माक्र्सवाद श्रमजीवि जनताको मुक्तिकोे सिद्धान्त हो भने बहुलवाद शोषण र उत्पीडनकारी समाजलाई युगौयुगसम्म यथास्थिति मै राखि राख्ने पूँजीवादीहरुको दृष्टिकोण र सिद्धान्त हो । माक्र्सवाद वा भौतिकवादी द्वन्द्ववादले पूँजीवादी पुरानो सडेगलेको उत्पीडनकारी र शोषणमूलक साज्यसत्तालाई मान्दैन । आफ्नो हातमा सत्ता लिनको लागि बल प्रयोगको भूमिकालाई आवश्यकता ठान्दछन् ।आफ्ने नेतृत्वमा सत्ता संचालन गर्छ र शोषकहरुलाई टाउको उठाउन नदिन निरन्तर क्रान्तिको आवश्यकता देख्छ । तर बहुलवादले यो सिद्धान्तलाई मान्दैन । विपरित स्वार्थ भएका वर्गहरु वीच संर्घषलाई स्वीकार्छ तर समन्वय र संझौता गर्छ । सिद्धान्तमा संश्लेषण गर्न र व्यवहारमा रुपान्तरण हुन सक्दैन । यसले एकता होइन अनेकतामा, सम्पूर्णतामा होइन अंशमा, सिद्धान्तमा होइन व्यवहारमा, संश्लेषणमा होइन विश्लेषणमा, वर्गमा होइन व्यक्तिमा, एकिकृत अनुशासनमा होइन समन्वय र सम्झौतामा, एकिकृत र सर्वहारा हेडक्वार्टरमा होइन बहुकेन्द्र हेडक्वार्टरमा, एकता सापेक्षतामा होइन निरपेक्षतामा, संघषर््ा निरपेक्षतामा होइन सापेक्षतामा बुझ्न र लागू गर्न आफ्नो सम्र्पूण ध्यान केन्द्रित गर्ने भौतिकवादी बहुलवादी सोच नै बहुलवादको विशेषता हो । यसरी नै अधिभूतवादी विश्व दृष्टिकोण रुपमा एकमनावाद र बहुलवादलाई बुझ्न सकिन्छ ।
भौतिकवादी द्वन्द्ववाद वैज्ञानिक दृष्टिकोण हो । मानव समुदायले विभिन्न क्षेत्र र समयमा गरेका संर्घष बैज्ञानिक प्रयोग र उत्पादनको प्रक्रियाबाट प्राप्त गरेको संश्लेषित ज्ञान हुन् । यसले मानव जीवन र भौतिक जगतको बैज्ञानिक अध्यायन गरेर वास्तविक अन्तरविरोध पत्ता लगाउनुको साथै यसको हल गर्ने सामथ्र्य पनि राख्दछ । भौतिकवादी द्वन्द्ववादको मुख्य सैद्धान्तिक नियम भनेको विपरितहरुको एकत्वको नियम हो । वादबाट विवादमा पुग्नु र विवादबाट संवादमा पुग्नु, एकतालाई सापेक्षतामा बुझ्दै संघर्षलाई निरपेक्षतामा बुझ्दै रुपान्तरण वा गुणात्मक छलाङ्गको रुपमा व्यक्ति, समाज वा पदार्थलाई लैजानु भौतिकवादी द्वन्द्ववाद हो । तथ्यहरुबाट सत्यको खोजी गर्दै कुशासन र भ्रष्टचारको जरा उखेल्दै न्याय, समानता र श्रमजीवि जनताको मुक्तिको समाज निर्माण गर्ने भौतिकवादी एकत्ववादीको सिद्धान्त नै भौतिकवादी द्वन्द्ववाद हो ।
यतिवेला हामी बहुलवादी खुला समाजमा आफ्ना राजनैतिक गतिविधिहरु संचालन गर्दै आइरहेका छौं । हाम्रो राजनैतिक अभिष्ट लक्ष्य बैज्ञानिक समाजवाद हुदै वर्गविहिन साम्यवादी समाज निर्माण गर्ने हो । अब प्रश्न उठ्न सक्छ, बहुलवादी दर्शन र सिद्धान्तको जगमा बैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ ? यदि बहुलवादलाई नै स्वीकार्ने हो भने के हामी माक्र्सवादी बन्न सकौंला ? यो संसदीय व्यवस्था हाम्रो कार्यनैतिक उपयोग कि रणनितिक उपयोग हो ? यी र यस्ता गंभीर प्रश्नहरु हाम्रा सामु टन् । यतिवेला प्रधान अन्तरविरोधको विषयमा र भावी कार्यक्रम र कार्ययोजनामा स्पष्ट किटान गरेर लैजानुपर्छ । एकमनावाद र बहुलवादको विरुद्ध कडा बैचारिक संघर्ष चलाउदै भौतिकवादी द्वन्द्ववाद विचारलाई स्थापित गरेर लैजानु आवश्यक छ । पार्टी भित्र व्यापक शुद्धिकरणको अभियान चलाउन ढिला भइसकेको छ । पार्टीभित्र उदय भैरहेको २ वर्गलाई समाप्त पार्ने व्यापक शुद्धिकरण अभियानले मात्र पार्टी भित्र भावनात्मक र बैचारिक एकता कायम हुनसक्छ । यसो गरेमात्र सिंगो पार्टी उर्जाशील बन्नेछ ।

(लेखकः सिन्धुपाल्चोकका पुराना पाका कम्युनिष्ट नेता हुन्)