क्याविनेटको निर्णयलाई नै लत्याए वामपन्थी नेताहरुले, बहुदललाई भोट दिएका कारण कार्यकर्ता अझै जेलमा
चौतारा । मुलुकमा गणतन्त्र आएको १३ वर्ष नाघ्यो तर बलेफी गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका ६८ वर्षीय खिका प्रसाद तिमिल्सिनाले गणतन्त्रको गहिरो अनुभूति गर्न पाएनन् । कारण उनले २०३६ सालमा बहुदललाई भोटदिए वापत झुट्टा मुद्दामा जेलको चिसो छिंडीमा बस्न विवश छन् । उनी संगै सोही गाउँपालिकाका ७० वर्षीय देवदोर्जे तामाङ र मांखाकै ६८ वर्षीय उमाकान्त पराजुली समेत कष्टकर जेलजीवन भोगिरहेका छन् ।
झण्डै चार दशक लामो समय पछि २०७३ सालमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले फरार अभियुक्त भन्दै उनीहरुलाई समातेको थियो । बिगत ३ वर्ष देखि ललितपुरको नख्खु कारागारमा रहेका वृद्वात्रय तिमिल्सिना, तामाङ र पराजुलीको अवस्था निकै कष्टकर बनेको ललितपुर जिल्ला कारागार नख्खुका जेलर कमलप्रसाद पाण्डेले सिन्धुज्वालाई बताए । वयोवृद्वहरुको अवस्था निकै कठिनायीपूर्ण छ,’जेलर पाण्डेले भने, ’यो मुद्दा पुरानो भएकोले राजनीति मुद्दा जस्तो देखिन्छ, माथिबाटै पहल गर्नुपर्ने हो ।‘
घटना २०३६ साल जनमत संग्रह ताका भएको थियो । स्थानीय जितबहादुर तामाङलाई हत्या गरिएको अभियोगमा हाल नख्खुमा रहेका तीनजना र मांखाकै रामबहादुर पराजुली तथा नारायण तिमिल्सिना समेत गरी पाँचजना मुछिएका थिए । घटना लगत्तै रामबहादुर लगाएत पाँचैजनालाई मुद्दा चलाईएको थियो । २०३९ सालमा जिल्ला अदालत सिन्धुापाल्चोकले उक्त मुद्दामा कुनै प्रमाण नपुगेको भन्दै पाँचैजनालाई सफाई दिएको थियो । तर क्षेत्रीय अदालतले भने २०४२ सालमा पाँचैजनालाई कसुर ठहरेको थियो भने २०४५ सालमा सर्वोच्चले क्षेत्रीय अदालतकै निर्णयलाई सदर गरेको थियो ।
२०४६ सालमा बहुदल घोषणा भएपछि उक्त घटनालाई राजनीतिक मुद्दा मानिए पनि तत्कालिन सरकारले मुद्दा फिर्ता गरेन । २०५० सालमा रामबहादुर समातिईए । अन्यलाई प्रहरीले फरार सूचिमा राखेको थियो । तर २०५१ सालको पहिलो कम्युनिष्ट (९ महिने) सरकारले उक्त घटनालाई राजनीति मुद्दा मान्दै तत्कालिन प्रधानमन्त्री मनहोहन अधिकारी र गृहमन्त्री केपी शर्मा ओली सहितको क्याविनेटको बैठकले अन्य दलको समेत राय लिई मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । मुलतबीमा रहेका कारण नारायण तिमिल्सिनाको मुद्दा फिर्ता भएपनि बाँकी ४ जनाको भएन् । सोही मुद्दामा एकजना मात्र पक्राउ परेका रामबहादुर ११ वर्षको कैद भुक्तान गरेर २०५९ सालमा जेलबाट छुटकारा पाएका थिए । आफुहरु निर्दोश हुँदा–हुँदै पनि बहुदल पक्षधर भएका कारण हत्या अभियोगमा फसाईएको रामबहादुरले बताए । ’हामी बहुदलवादी भएका कारण निर्दलको पक्षमा गएनौं त्यसकै निहु बनाएर हामीलाई फसाईयो‘, रामबहादुरले भने । गणतन्त्र आएसंगै बनेको कम्युनिष्ट नेतृत्वको सरकारले झुट्टा मुद्दामा फसाईएका आफ्नै कार्यकर्ताहरुलाई वास्ता नगरिएको उनले दुःखेसो पोखे । दुईतिहाईको कम्युनिष्ट सरकाले कम्युनिष्टकै कार्यकर्तालाई राजनीतिक मुद्दामा जेल परेकालाई निकाल्न प्रयास नगर्नु विगतको आफ्नै निर्णयलाई उल्ट्याएको सोही पार्टीका कार्यकर्ताहरुको बुझाई छ । पार्टीले उक्त घटनालाई राजनीतिक रुपमै लिएको तर अदालतले फैसला गरिसकेका कारण ढिलाई भएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ’सुवोध‘ले बताए । ’हामी यस विषयमा उच्च नेतृत्व सम्म छलफल गरिरहेका छौं, प्रयास भईरहेको छ‘, सिन्धुपाल्चोकका नेता सापकोटाले भने । २०३६ सालको काण्डमा हत्या अभियोगमा जेल परेका वृद्वत्रयको बारेमा सरकारले उचित निर्णय नगरेमा उनीहरुको स्वास्थ्यमा गम्भिर असर पर्नसक्ने जेलप्रशासनको ठहर छ । यदि वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले उनीहरुको मुद्दा फिर्ता नलिए अझै ९ वर्ष कारागार बस्नुपर्ने छ ।