कैदी–बन्दीको फरक जीवन शैली, श्रम गरेर जेलभित्रै आत्मनिर्भर

जुगल गाउँपालिका वडा नम्बर १ गोल्चेका ३५ वर्षीय चीन बहादुर लोप्चन कर्तव्य ज्यान मुद्दामा जेल बसेको ८ वर्ष पुग्यो । २६ वर्षको लक्का जवान उमेर, भर्खरको भरभराउँदो बैंस, खाउ–खाउँ लाउँ–लाउ भन्ने बेलामा कर्तव्य ज्यान मुद्दा लागेर उनी जेल परे । सिन्धुपाल्चोक अदालतले जन्मकैद (२०वर्ष) फैसला गरेपछि आफ्नो जीवन प्रति निकै हार खाएका उनी ८ वर्षको बीचमा झण्डै ५५ महिना सुनसरीको झुम्का र चौतारा कारागारमा बिताए । त्यति लामो कैद भुक्तान गर्नुपर्दा आफ्नो् जींदकी पट्यार लाग्दो बन्यो उनलाई । कलिलो उमेरमा विवाह गरेकी श्रमति र भर्खर जन्मिएका दुई छोरी तथा आमालाई सम्झेर उनी धेरै पटक मुर्छित बने । आफैं मरौं जस्तो निराश भए उनी । पारिवारिक पिंडा र आर्थिक अभाव झेल्दै सकसले कैद भोगिरहेका तिनै लोप्चन अहिले भने निकै उत्साहित छन् । जेलभित्रै मुडा बनाएर लोप्चन अहिले मासिक ६ हजार देखी ७ हजार सम्म बचत गर्छन । कमाउने जमाउने बेलामा आफु जेलपर्दा घरबाट सामन्य खर्च मगाउन नसक्ने समेत अवस्थामा रहेका तिनै लोप्चन अहिले उल्टै आफुले जेलभित्र बचत गरेको पैसा घरपरिवारलाई पठाउने गरेको बताउँछन् । ’घरपरिवार आउँदा जोहो गरेको केही पैसा घर पठाउने गरेको छु‘, निकै उत्साहित हुँदै लोप्चनले भने । जेल भित्रै मुडा बन्ने सिप जानेका लोप्चन अहिले आफु मात्रै कमाउदैन जेल भित्र रहेका अन्य कैदी बन्दीलाई समेत आर्थिक आत्मनिर्भर बनाएका छन् सीप सिकाएर । लोप्चन अहिले मुडा बनाउने तालिमको नाईके बनेका छन् जेलभित्र । उनी जस्तै फुलपिङकोटका ५४ वर्षीय टंक बहादुर भण्डारी मुडामा बुटा हालेर दिनको दुईसय कमाउछन् । जेलमा मुडा बन्ने सीपले आत्म निर्भर बनाएको कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका अर्का उद्यमी वाङजेन शेर्पाले बताए । दैनिकी काममा व्यस्त हुँदा आर्थिक उपार्जनको साथै जेल बसाईमा हुने मानसिक तनाव समेत कम हुने उनको ठहर छ ।

चौतारा कारागारमा मुढा बन्दै कैदीबन्दी

भवितव्यमा भएका अपराधका घटनाबाट पश्चतापमा जलेर निराश बनेर होईन भोगाई र गराईबाट पाठ सिक्दै आफुलाई सुधारेर फेरी उही समाजमा स्थापित हुन सकिन्छ भन्ने आत्म विश्वास जगाएका छन् लोप्चन जस्तै चौतारा कारागारका कैदीबन्दीले । उक्त कामको अवसर भने जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको अनुमतिमा सोही जेलमा कैद भोगिरहेका रमेश लामाले जुटाएका हुन् । आफुले व्यक्तिगत एकलाख लगानी गरेर मुडा बनाउने कामको सुरुवात गरिएको उनले बताए । उनी जेलभित्रका कैदीबन्दीका नाईके समेत हुन् । नाईके लामाका अनुसार सिन्धुपाल्चोक चौतारा कारागारमा हाल १०८ कैदी तथा थुनुवा रहेका छन् । ति मध्ये १५ जनालाई मुडा बनाउने अवसर दिईएको रमेशले बताए । बाँकी बन्दीलाई समेत क्रमशः तालिम सिकाईने उनले बताए । ’हामी ईच्छुक हुने सबै बन्दीलाई समेत यो तालिम दिएर आर्थिक उपार्जनमा लगाउछौं, नाईके रमेशले भने । उनका अनुसार मुडा उत्पादन हुनसाथ ग्राहक जेलमै किन्न आउँछन् । विक्री नभएको मुडा काठमाडौं लगाएत स्थानमा पठाउने गरेको उनले बताए । स्थानीय बाँसको प्रयोग, नाईलमको डोरी तथा टायरको प्रयोग गरेर बनाईने मुडा प्रति गोटा चार सय देखी चारसय पचास सम्म बिक्री गर्ने गरेको नाईके रमेशको कथन छ । जेलका चौकीदार लाक्पा शेर्पाका अनुसार चौतारा कारागारमा कैदी तथा थुनुवाले दुईवटा संयुक्त मेशमा खाना खान्छन् । व्यक्तिले अलग–अलग खाँदा सरकारले उपलब्ध गराउने दिनको सातसय ग्राम चामल र ६० रुपैंया पैसाले दुईछाक खान समेत मुश्किल पर्ने भएकोले सामुहिक मेश चलाएको चौकीदार शेर्पाले बताए । ’छुट्टा–छुट्टै खाँदा आएको रासानले पुग्दैन हामी संयुक्त खान्छौ‘, चौकिदार लाक्पाले भने । दुईवटा मेश चलाउँदा उब्रेको पैसा प्रत्येक कैदीबन्दीलाई मासिक ३ सय रुपैंया उपब्ध गराउने गरेको उनले बताए । अन्य आवश्यक खर्चको लागि कैदीबन्दीलाई मुडा बनाउने सीपको अलवा, पोते उन्ने, माला बुन्ने तथा ढाका टोपी बुन्ने सीपको लागी आफुहरुले जेल प्रशासनसंग माग गरेको उनले बताए । चौकीदार लाक्पाका अनुसार जेलभित्र ११÷१२ पढ्ने २० जनाको हाराहारीमा कैदीबन्दी समेत छन् । तिनको पढ्ने सुविधा भने चौतारा कारागारमा छैन् । बन्दीको माग अनुसार जेलभित्र थप सीपको व्यवस्था तथा पढ्न चाहने कैदीबन्दीलाई पढ्ने सुविधाको लागि माथिल्लो निकायमा पत्र पठाईएको जिल्ला कारागार शाखा सिन्धुपाल्चोकका निमित्त जेलर खोपनाथ नेपालले बताए । ’कैदी तथा बन्दीको लागि सीप, पढ्न पाउने सुविधाका लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौं‘, निमित्त जेलर खोपनाथ नेपालले भने । उनका अनुसार भूकम्प पछि झण्डै एक वर्ष खाली बनेको चौतारा कारागारमा १०८ बन्दी मुश्किले बसीरहेका छन् । भूकम्पका कारण कारागार पूर्णरुपमा क्षति हुँदा कैदीबन्दी सबै बाहिरिएका थिए । जेलबाट भागेका कतिपय कैदीबन्दी सम्पर्कमा आएका थिए भने केहीलाई जिल्ला प्रहरी कार्यालयले खोजतसाल गरेर कारागारको मर्मतसुधार गरेर राखेको थियो । ८ जना क्षमता भएको महिला बन्दी गृहमा अहिले १०८ बन्दी राखिएको छ । पछिल्लो पटक संजाय तोकिएर आउने महिला बन्दीलाई भने काठमाडौं लगाएत अन्यन्त्र लैजानु परेको निमित्त जेलर नेपालले जानकारी दिए । उनका अनुसार एकसय क्षमताको बन्दीगह बनाउन ३ वर्षअघि गृहमन्त्रालयले स्विकृत दिएपनि बजेट नतोकिदिंदा कुनै काम अगाडि बढ्न सकेको छैन् । गर्मिमा ज्यादा गर्मी तथा जाडोमा घाम ताप्न समेत नपाई चौतारा कारागारमा मुश्किलले दिन रात कटाईरहेको बन्दीहरुले गुनासो छ ।
प्रस्तुतीः दिनेश दुलाल