ओख्रेनीको गान्टे मुला !

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ फुस्रेका ५२ वर्षीय चन शेर्पा उज्यालो नहुँदै गह्रौं भारी बोकेर चौतारा आई पुग्छन् । उनी चौतारा बजार सम्म आईपुग्न चारघण्टाको पैदल हिंडेर आउनुपर्छ । आफु समेत परिवारका तीन सदस्यले डोकोमा बोकेको तीनभारी गान्टे मुला बजार पुग्न नपाउँदै क्षणभरमै सकिन्छ । गान्टेमुला बिक्री गर्न चनलाई धेरै समय कुर्नु पर्दैन ग्राहको ताती नै लाग्छ । प्रति मुठा ४० रुपैंयामा बिक्री गरेर तीनभारीको ७ हजार कम्बरको थैलीमा बाँधेर सबेरै आफ्नो घर फर्कन्छन् उनी । चनको गान्टे मुला बेच्ने दिनचर्यनै बनेको छ । अहिले ओख्रेनीको गान्टे मुला निकै चर्चामा छ । समुन्द्र सतह देखि झण्डै तीनहजार उचाईमा रहेको सदरमुकाम नजिकको अख्रेनी, फुस्रे र सिंर्धुचे निकै चिसो ठाउँ हो । चिसो ठाउँमा उत्पादित मुला निकै स्वादिष्ट भएकाले तरकारी र सलादको लागि बढी बिक्री हुने गरेको व्यवसायी शेर्पा बताउँछन् । शेर्पाले यो व्यवसाय गरेको तीन दशक भईसक्यो । उनले एक रोपनीमा मात्रै गान्टेमुला लगाएका छन् । गान्टेमुला बिक्री गरेर एक सिजनमा ५० हजार भन्दा माथि आम्दानी हुने शेर्पा बताउँछन् । थोरै लगानीमा उत्पादन गर्न सकिने गान्टे मुला शुद्व अग्राईनिक भएको उनको तर्क छ । उनले आलुमा समेत उती नै फाईदा लिएको बताए । गान्टेमुला तथा आलुमा गाईबस्तुको मलमुत्र बाहेक रासायनिक मलको प्रयोग नगरिने चन बताउँछन् । ’पहिला पहिला चामल सित मुला र आलु साट्न घर घरमै ग्राहक पुग्थे अहिले आफैं आउनु पर्छ‘, चनले भने । उनका अनुसार निकै चिसो हुने लेकमा उत्पादन कम हुनाले अन्न संग साट्ने प्रचलन थियो तर पछिल्लो पटक खाद्यन्न गाउँमै पुग्ने भएपछि नगदमै कारोबार गर्न थालेका छन् शेर्पा समुदायले । ओख्रेनी, खस्रे, फुस्रे लगाएत स्थानमा सडकको नयाँ ट्र्याक खोलिएपनि बर्षादका कारण यातायात सुचारु नभएपछि दैनिक ८ घण्टा खर्चिएर पैदल यात्राद्वारा जिल्ला सदरमुकाम चौतारा आईपुग्न वाध्य छन् शेर्पा समुदाय । निकै लोकप्रिय मानिएको लेकाली आलु र गान्टे मुलाको व्यवसायीकरण गर्न नगरपालिकाले योजना समेत बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए ।
स्मरण रहोस आजभोली पाईने जिल्ला सदरमुकाम चौतारामा आईपुग्ने निउरो समेत निकै लोकप्रिय मानिन्छ ।